वैशाख २ । अमेरिकारले गरेको विद्युतीय जाुसुसीबारे गहकिलो समाचार पस्के बापत अमेरिकाका गार्जियन युएस र वासिंगटन पोष्ट पत्रिकाले प्रतिष्ठित पुलिट्जर पुरस्कार प्राप्त गरेका छन् ।
पूर्व अमेरिकी जासुस एडवर्ड स्नोडेनले सार्वजनिक गरेका अमेरिकी विद्युतीय जासुसीका गोप्य तथ्यहरुमा आधारित रहेर ती दुई पत्रिकाले सार्वजनिक महत्वको पत्रकारितामा उल्लेखनीय योगदान गरेकोले पुरस्कृत गरिएको पुलिट्जर पुरस्कार छनोट समितिले जनाएको छ ।
हाल रुसमा शरण लिइरहेका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)का पूर्व कर्मचारी स्नोडेनले अमेरिकी विद्युतीय जाुससीबारे लगातार तथ्य विवरणहरु सार्वजनिक गरेका थिए । पुलिट्जर पुरस्कार प्रदान गर्ने कोलम्बिया विश्वविद्यालय पत्रकारिता स्कुलले दुबै पत्रिकाले जनता र सरकारबीचको सम्बन्ध, राष्ट्रिय सुरक्षा र ब्यक्तिगत गोपनीयताबारे संवेदनशील भइ गहन र जिम्मेवार पत्रकारिता गरेको पुरस्कार समितिको ठहर छ ।
आफूले सार्वजनिक गरेको तथ्यमा आधारित रहेर समाचार लेखी गार्जियन र बासिंगटन पोष्टले पुरस्कार प्राप्त गरेकोमा स्नोडेनले साहसी पत्रकारिताको सम्मान भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।
यस्तै, अरु विधामा महत्वपूर्ण पुरस्कार पाउनेहरुमा बोस्टन ग्लोव र रोयटर समाचार एजेन्सीका दुई पत्रकार पनि छन् । उन्नाइसौं शताब्दीका अमेरिकी साहसी पत्रकार जोसेफ पुलिट्जरको नाममा स्थापित पुलिट्जर पुरस्कार संसार भरमै प्रतिष्ठित मान्निछ । (एजेन्सी)