ओबामाद्धारा पुटिनलाई पूर्वी युक्रेनमा पृथकतावादीहरु तह लगाउन रुसी प्रभाव प्रयोग गर्न आग्रह

वैशाख २ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पूर्वी युक्रेनमा पृथकतावादीहरु तह लगाउन रुसी प्रभाव प्रयोग गर्न आग्रह गरेका छन् । युक्रेनका पूर्वी सहरहरुका सरकारी भवनहरु रुस समर्थित कार्यकर्ताले नियन्त्रणमा लिंदै गर्दा पुटिनसँगको टेलिफोन कुराकानीमा ओबामाले यस्तो आग्रह गरेका हुन् ।


पुटिनको आग्रहमा भएको कुराकानीमा ओबामाले युक्रेनी संकट कुटनीतिक रुपमा समाधान गर्न खोजे पनि यस दिशामा रुसको कदम प्रर्याप्त नभएको बताए । रुसी राष्ट्रपति पुटिनले भने रुसले युक्रेनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै ओबामाले प्राप्त गरेको सूचना अविश्वासिलो भएको जिकिर गरे ।


यता युरोपियन युनियनका विदेशमन्त्रीहरुले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने जनाएका छन् । गत महिना रुसले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि त्यस क्षेत्रमा तनाब चुलिएको छ । (एजेन्सी)