नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका पूर्व जिल्ला सदस्यको निधन, सिङ्गो खिदीम शोकमा

मोहन गौतम
 
खिदीम, अर्घाखाँची बैशाख ०३ बुधवार । अर्घाखाँची जिल्ला खिदीम गा.वि.स. स्थित फर्सवा टाकुरा उच्च माध्यमिक विद्यालयका अंग्रेजी विषयका पूर्व शिक्षक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका पूर्व जिल्ला कमिटी सदस्य माधवराज ज्ञवालीको मंगलवार बेलुका भैरहवा स्थित मेडिकल कलेजमा उपचार गर्दागर्दै निधन भएको छ ।
 


 


केही समय पहिले उनको दुबै मृगौलामा समस्या देखिएपछि भारतको भेलोर, काठमाण्डौ तथा भैरहवाको मेडिकल कलेजमा उपचार गराइरहेका थिए।
 
खिदिम गा.वि.स. वडा नं. ३ साधनबुटाका स्थायी बासिन्दा उनले स्वास्थ्य समस्याकै कारण लामो अध्यापन अवधिबाट समय अगावै गत वर्ष राजीनामा दिएर बुटवल शंकरनगर स्थित आफ्नै निवासमा बसेर उपचार गराइरहेका थिए।
  


 
 


विगत केही दिनदेखि जटिल समस्या देखिएपछि उनलाई भैरहवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
 
उक्त क्षेत्रका अति कम मात्रले अंग्रेजी विषयमा बी.एड. गरेको समय (वि.स. २०४२/०४३ साल)मा काठमाडौँको महेन्द्ररत्न क्याम्पसबाट बी.एड. गर्नुभएका उनले आफ्नो गाउँलाई माया गरेर सोही स्थानमा फर्कि लामो समय अध्यापन गरेका थिए । उनले सफल र असल अंग्रेजी शिक्षकका साथमा राम्रो सामाजिक कार्यकर्ताका रुपमा समेत आफ्नो छवि बनाएका थिए।
 
 
 


५७ वर्षका उनको निधनबाट  पढाएका हजारौँ विद्यार्थी, नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची, फर्सवा टाकुरा उच्च माध्यमिक विद्यालय तथा सिङ्गो खिदीम क्षेत्र अहिले शोकमा डुबेको छ ।
 
 उनका श्रीमति शान्ता, दुइ छोरा रमेश र राजन, छोरी रञ्जु रहेका छन् ।
 


अन्य समाचारहरु