वैशाख ४ । भारतमा संसदीय चुनाव अन्तर्गत आज १ सय २१ सीटका लागि १२ राज्यमा मतदान हुँदैछ । आज कर्नाटका, विहार, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाललगायतका राज्यहरुमा मतदानको कार्यक्रम छ ।
चरणगत मतदानमा सबैभन्दा धेरै सीटमा एकैदिन आज १ सय २१ सिटमा मतदान भएकाले यसलाई महामतदानको दिन भनिएको छ । यो पाँचौ चरणको मतदान हो । यसअघि १ सय ११ सिटका लागि मतदान भइसकेको छ ।
मे १२ सम्म मतदान भइ १६ मेदेखि मतगणना सुरु गरिने भारतको निर्वाचन आयोगले जनाएको छ । भारतीय लोकसभाका ५ सय ४३ सीट मध्येबाट बहुमतको सरकार बनाउने दलले २ सय ७२ सिटमा जित्नुपर्ने हुन्छ ।
यसपटकको चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने आंकलन गरिए पनि कांग्रेस र आम आदमी पार्टीले कडा टक्कर दिंदै छन् । (एजेन्सी)