समयमै चर्पी नबनाएकोमा वाङलावासी पछुताए

शोभाखर पन्थी 



बैशाख ४, वाङला, अर्घाखाँची । ४० बर्ष पहिले गाउँमा चर्पी बनाउनु पर्छ भन्दै सरसफाइ अभियान सञ्चालन गर्दा समाजसेवी नेत्र प्रसाद भुसाललाई तिरस्कार गर्ने वाङलावासीले अहिले आफुलाई पछुतो लागेको बताए । 

 


 

वाङलाको वार्ड नं ३ देउराली डाँडा र सोही वडाको जीवन सुधार प्राथमिक बिद्यालयको सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा समाजसेवी बिनोद आर्चायले समाजसेवी नेत्र प्रसाद भुसालको कुरा नसुन्दा वाङला ४० बर्ष पछाडि परेको दुखेसो पोख्नु भएको हो । 



८५ घरधुरी रहेको देउराली डाँडामा ८ महिना पहिलेसम्म ३९ घरमा मात्रै सुरक्षित चर्पी थियो । खुल्ला ठाउँमा दिसा गर्दै आएका ४६ घर परिवार मध्ये १० घर अन्यत्र बसाई सरेर गएको , ३६ घरले खुल्ला दिसामुक्त अभियानको क्रममा सुरक्षित चर्पी बनाए पछि वार्ड न ३ गाविसकै पहिलो खुल्ला दिसामुक्त वडा बन्न सफल भएको हो । 



चर्पीको महत्व थाहा पाएर चर्पी बनाई प्रयोग गरेपछि नयाँ जीवन पाएको महसुश भईरहेको र दिनचर्या निकै सहज भएको स्थानीयहरुले बताए । हरेक दिन खोल्सा र झाडीमा लुक्दै, बर्षातमा भिज्दै, रातमा डर मान्दै दिसा गर्न बाध्य घर परिवारले चर्पीले परिवारमा खुशियाली ल्याएको बताएका छन् । 

 



 

वाङला देउराली डाँडा निवासी ६२ बर्षिया मीना परियार,६८ बर्षिया टीकाकुमारी बस्नेत  र ६५ बर्षिया लक्ष्मी भाटले पहिलो पटक चर्पीमा दिसा गर्न जाँदा अनौठो र असहज महशुस भएको तर अहिले अति नै सहज भएको बताएका छन् । पहिले दिसैदिसा भएका फोहोर ठाउँमा नाक थुन्दै दिसा गर्ने भएकाले पनि चर्पी घरभित्र सफा ठाउँमा दिसा आउदैन कि भन्ने लागेको मीना परियारले बताइन् । 



चर्पी निर्माणले गाउँको मुहार नै फेरिएको छ । खुल्ला दिसाले फोहर हुने देउराली डाँडा अहिले निक्कै सफा देखिन थालेको छ । चर्पी निर्माण पछि गाउँमा रोग व्याधीमा समेत कमी आएको स्थानीय विद्यालयका प्रअ नारायण भाटले जानकारी गराउनु भयो । उहाँले खुल्ला दिसाको कारण झाडापखाला, जुका, आउ मासी जस्ता रोग लाग्ने गरेकोले पहिले विद्यार्थीहरु नियमित रुपमा विद्यालय नआउने गरेकोमा चर्पी निर्माण र प्रयोग, साबुन पानीले हात धुने बानीको विकास भएपछि रोग लाग्नमा समेत कमी आएकोले विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउने गरेको जानकारी गराउनु भयो । 



८ महिना पहिला सरसफाइ अभियान लिएर गाउँमा जादाँ संकोच मान्ने र धेरैको गाली समेत खाएका वडा संयोजक कमल महत्रा खुल्ला दिसामुक्त अभियान आफ्नो समुदायको निम्ति संजिवनी बनेको ठान्नु हुन्छ ।  



चर्पी बनेपछि गाउँमा इज्जत प्रतिष्ठा बढेको, दिसापिसाब गर्न सजिलो भएको र स्वास्थ्य समेत सुरक्षित हुने स्थानीय बासिन्दाको भनाई छ । पहिले चर्पी बनाउनुस् भन्दा गाली गर्ने र अटेर गर्नेहरु समेत अहिले चर्पी प्रयोग गर्न थालेपछि भेट हुँदा मुसुक्क हाँसेर चाहिने  चिज रहेछ भन्ने गरेको वडा संयोजक कमल प्रसाद महत्राले बताउनु भयो । 

 

चर्पी एक तर फाइदा अनेक भएको स्थानीय बासिन्दाहरु बताउछन् । खुल्ला ठाउँमा दिसा गर्दा जंगली जनावरको भय खेप्नु पर्ने, रातीको समयमा चोरको डर हुने, बर्षमा पानीमा भिज्ने, महिला हिंसाको शिकार हुनु पर्ने, दिसा गर्दा गर्दै मानिस आएमा उठ्नु पर्ने जस्ता थुप्रै समस्याहरु बाट मुक्ति मिलेकोमा जीवन सहज भएको उनीहरुले सुनाए । 



बुधवार वाङलाको देउराली डाँडामा छुट्टै किसिमको खुशीयाली छाएको थियो । गाउँमा झ्याई झ्याई पञ्चेबाजा बजेका थिए भने स्थानीय बासिन्दाले खुल्ला दिसामुक्त भो, अब हामीलाई ढुक्क भो, खुल्ला दिसा बाईबाई, देउराली डाँडा हाईहाई, हाम्रो घरमा चर्पी छ, यसमा हामीलाई गर्व छ  भन्दै नाराबाजी गरेका थिए । 



खुल्ला दिसामुक्त घोषणाको लागि पुगेका ग्लोबल स्यानिटेसन फण्ड  प्रोग्राम यू.एन.ह्याविट्याट का जिल्ला संयोजक विष्णु दवाडी, सहजीकरण गर्ने संस्थाका प्रेम नारायण गैरे र सुरज सारु, भिवाससिसिका अध्यक्ष बाल बहादुर जिसी लगायतका अतिथिहरुलाई गाउँलेहरुले फूलमाला र अबिर लगाएर भब्य स्वागत गरेका थिए । 



वार्ड नं ३ र जीवन सुधार प्राविको सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त घोषणा गर्दै प्रमुख अतिथि दवाडीले सरसफाइ मानिसको जीवन, स्वास्थ्य, धन, खुशी, आत्म सम्मान, गौरव आदि सँग जोडिएको महत्वपूर्ण अभियान भएको बताउदै सरसफाइ सम्बन्धी प्राप्त ज्ञानलाई सबैले सधै व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भएको छ । 



१हजार १ सय ९९ घरसंख्या रहेको वाङला गाविसमा अभियान पूर्व केवल ३ सय ५० घरमा सुरक्षित शौचालय रहेकोमा हाल ९ सय ७० घरपरिवारमा चर्पी निर्माण भई प्रयोगमा आएको सहजकर्ता घनश्याम भुसालले जानकारी दिनुभयो । 

अन्य समाचारहरु