ओखलढुंगा, वैशाख ५ – सगरमाथा आधार शिविर भन्दा केही माथि परेको हिम पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु भएकाहरुको सनाखत गरिएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक बद्रीबिक्रम थापाले जानकारी दिए ।
हिम पहिरोमा परी दोर्जी शेर्पा, आङछिरिङ शेर्पा, मिङमा शेर्पा, ङिमा शेर्पा, आङकाजी शेर्पा, पासाङ कर्मा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, छिरिङ वाङचु शेर्पा, वाङगेले शेर्पा, खेमदोर्जे तामाङ, फूर्वातेम्बा शेर्पा, आसमान तामाङको मृत्यु भएको हो । मृतकको शव लुक्ला ल्याउने क्रम जारी छ ।
पहिरोमा परी घाइते वाकु ४, सोलुका २४ वर्षीय फुरी शेर्पालाई उपचारका लागि राजधानी लगिएको छ । घाइते छोसेर ८ मुस्ताङका छिमि गुरुङ (वर्ष २७), टाक्सिन्दु ५ सोलुका काजी शेर्पा (वर्ष ३९), केरुङ ३ सोलुकै काजी शेर्पा (वर्ष २७) को नकोलनिकि अस्पताल लुक्लामा उपचार भइरहेको छ ।
मौसम बिग्रिएको कारण उद्दार कार्य बन्द भइसकेको छ । पूर्ण विवरण आउन भोली १० बजेसम्म लाग्नेसगरमाथा प्रदुषण नियन्त्रण समितिका कर्मचारी कविन्द्र राईले बताए । सगरमाथा आधार शिविर र शिविर १ बीचमा पहिरो गएको हो ।
पहिरोमा पर्नेहरु हिमालयन गाइड नेपाल, शेर्पा अलपाइन गाइड, एसियन ट्रेकिङ र समित नेपालको ट्रेकिङ एजेन्सीमार्फत त्यहाँ गएका हुन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ५