काठमाडौ, वैशाख ५ – एमाओवादीका कारण दुई पटक अवरुद्ध संसद वैठक आजबाट सूचारु भएको छ ।
आजको वैठकमा कानुनमन्त्री नरहरी आचार्यले बेपत्ता भएका व्यक्तिको छानिबन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक प्रस्तुत गरेका छन् ।
अर्को बैठकमा आयोगको विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । संसद्को अर्को बैठक आइतबार २ बजेका लागि बोलाइएको छ ।
फुजेल काण्डमा दोषी भएको आरोपमा आफ्ना दुई कार्यकर्ता पक्राऊ परेकेा विरोधमा एमाओवादीले बुधबार र बिहीबार संसद वैठक अवरुद्ध गरेको थियो ।
चितवन अदालतले दुवै आरोपीलाई धरौटीमा रिहा गरेपछि आजबाट संसद सूचारु भएको हो ।
नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वको क्रममा भएको अपराधिक घटनाबारे छानबिनका लागि बनेको विधेयकमाथि अन्तर्राष्ट्रिय समुदायको पनि चासो बढेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाले पनि गम्भीर अपराधमा आममाफीको प्रावधान नराख्न आग्रह गरेका थिए ।
एमओवादीले द्वन्द्वकालका सबै घटनाको आयोगमार्फत् छानबिन हुनुपर्ने माग गर्दै आएको थियो ।
वैठक पछि सञ्चारकर्मीसँग बोल्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेलले आइतबार सैद्धान्तिक छलफल गरेर बैशाख १३ भित्र विधेयक पास गरिसक्ने सहमति बनेको बताए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ५