ओखलढुंगा, वैशाख ६ – सोलुखुम्बुको सगरमाथा आधारशिविर र क्याम्प नं. १ को बिचमा शुक्रबार गएको हिमपहिरोमा बेपत्ता चार मध्ये एकजनाको शव शनिबार निकालिएको छ ।
उक्त शव लेलेप ९, ताप्लेजुङ ठेगाना भएका दोर्जी खत्रीको रहेको उद्धार टोलीले जनाएको छ । दोर्जीसँगै उद्धार गरि निकालिएको मृत शवको संख्या १३ पुगेको छ । १२ जनाको शव शुक्रबार नै लुक्ला ल्याई आफन्तलाई जिम्मा लगाइएको छ ।
बेपत्ता अन्य तीन जना कम्तिमा ८० मिटर भन्दा बढी गहिराईमा पुरिएका छन् । ‘आज उद्दार गर्न मौसम पनि बिगि्रसक्यो’, सगरमाथा प्रदुषण नियन्त्रण समिति -एसपीसिसि)का महासचिव लामाकाजी शेर्पाले टेलिफोनमा भने, ‘हाम्रो आइसफल डाक्टरहरुसँग बुझ्दा अब शव निकाल्ने सम्भावना घटेर गएको छ ।’
क्लाइम्बिङ शेर्पाको लागि चर्चित खुम्जुङ र नाम्चेको मात्रै ६ जना शेर्पाहरु निधन भएपछि अहिले खुम्जुङ क्षेत्र नै शोकमग्न भएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ६