वैशाख ६ । दक्षिण कोरियामा गत हप्ता भएको पानीजहाज दुर्घटनापछि पक्राउ परेका जहाजका क्याप्टेनले जहाज खाली गर्न आदेश दिन ढिला गरेको स्वीकार गरेका छन् । ६९ वर्षीय ली जुन सिओकले यात्रु डुबेर बग्ने डरले आदेश दिन ढिलो भएको भन्दै माफी मागेका छन् ।
हिजो मात्र चालक दलका दुई सदस्यसहित ली पक्राउ परेका थिए । दुर्घटना लगत्तै पानीजहाज खाली गर्न छिटो आदेश नदिएको भन्दै लीको आलोचना भैरहेको छ । उनीमाथि लापरवाही र सामुद्रिक नियमको उल्लंघन गरेको आरोप पनि लगाइएको छ ।
दक्षिण पश्चिमी सुमद्री क्षेत्रमा डुबेको पानीजहाज दुर्घटनामा २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय ७३ यात्रु अझै हराइरहेका छन् भने १ सय ७४ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।
खराब मौसमका कारण खोजी प्रभावित भैरहेको छ । उत्तर पश्चिमी इन्छन बन्दरगाहबाट दक्षिणी क्षेत्रको रिसोर्टतर्फ ४ सय ७५ जना यात्रु लिएर गइरहेको पानीजहाजमा ३ सय ५० स्कूले विद्यार्थी थिए । (एजेन्सी)