नेपाली कांग्रेस पूर्वका जिल्लामा पार्टी जागरण अभियानमा

काठमाडौं, वैशाख ७ । नेपाली कांग्रेसले आजबाट पूर्वका विभिन्न जिल्लामा पार्टीको जागरण अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मेचीको विर्तामोड, कोशीको विराटनगर, सगरमाथाको राजविराज, जनकपुरको जनकपुरधाम र नारायणीको वीरगञ्जमा जागरण सभा गर्नेछ ।
आज मेचीको विर्तामोडमा हुने कार्यक्रमलाई पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा सम्बन्धित अञ्चलका जिल्ला सभापतिहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाका दरले प्रतिनिधिहरु सहभागि हुनेछन् । आज झापाबाट शुरु हुने अभियान बैशाख ११ गते वीरगञ्ज पुगेर सकिनेछ ।
प्रशिक्षणमा पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिक विषयवस्तुमा कार्यकर्तालाई प्रशिक्षण दिइनेछ । यसअघि चैतको पहिलो हप्ता पश्चिमका महाकाली, सेती, भेरी, राप्ती र लुम्बिनीमा अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । अभियान वैशाख ३० गते काठमाडौं आएर सकिने छ । IMAGEKHABAR