काठमाडौं, वैशाख ८ । सगरमाथा आरोहीका सहयोगीले यस वर्ष सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन् । आधार शिविरमा भेला भएका करिब पाँच सय सहयोगीले सन् २०१४ लाई आरोहणमा कालो वर्षका रुपमा मनाउँदै आधार शिविर पुगेका सबैलाई फर्कन आह्वान गरेका छन् ।
सगरमाथा आरोहण सिजनको सुरुमै शुक्रबार १३ जना आरोहण सहयोगीको हिमपहिरोमा परी मृत्यु भएपछि उनीहरुले शिखर नचढ्ने निर्णय गरेका हुन् । आफूहरुले ज्यान जोखिममा पारेर पर्यटकलाई आरोहणका लागि बन्दोबस्त मिलाउँदा पनि सरकारले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् ।
आधार शिविरमा शुक्रबारदेखि हिजोसम्म सिनियर गाइड, आरोहण टोलीका नेता तथा सहयोगीहरुको बैठक बसेको थियो । बैठकले सरकारसँग सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणका क्रममा मृत्यु हुनेका परिवारका बालबच्चालाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीको जीवन बिमा बढाएर २० लाख रुपैयाँ पुर्याउनुपर्नेलगायतका विभिन्न १२ बुँदे माग अघि सारेको छ ।
सहयोगीबिना सगरमाथा आरोहण असम्भव रहेको छ । यस वर्ष एक नेपाली र ३० विदेशी दलका तीन सय ३४ जना आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन् । IMAGEKHABAR