काठमाडौ, वैशाख ८ – संविधानसभाका समितिहरुको नेतृत्वको निर्वाचन बैशाख १२ गते साँझ ५ बजे हुने भएको छ । सर्वसमितिबाट समितिका सभापतिहरु छान्ने प्रमुख तीन दलको प्रयास असफल भएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज निर्वाचनको तिथी तोकेका हुन् ।
आजै संसद सचिवालयले निर्वाचन कार्यक्रम प्रकाशित गर्ने प्रवक्ता मुकुन्द शर्माले बताएका छन् । संविधानसभा कार्यतालिका अनुसार वैशाख १५ भित्र गठित ५ वटा समितिहरुले आ-आफ्नो सभापति निर्वाचित गरिसक्नुपर्ने छ ।
प्रमुख तीन दलबीच संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीलाई, संविधान मस्यौदा समिति कांग्रेसलाई र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको नेतृत्व एमालेले गर्ने समझदारी भएको छ । एमाओवादीबाट बाबुराम भट्टराई, कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट विष्णु पौडेलले समितिको नेतृत्व गर्ने निश्चित प्रायः छ । विघटित संविधानसभामा केही समय एमाले नेता माधवकुमार नेपालले संवैधानिक समितिको नेतृत्व गरे बाहेक कुनै समितिमा पार्टीका वरिष्ठ नेताहरुले नेतृत्व गरेका थिएनन् ।
तीन दलबीच नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको नेतृत्व मधेस केन्द्रीत दल र साना दलहरुलाई दिने समझदारी भएको छ । विघटित संविधानसभामा १४ वटा समिति रहेकोमा अहिले ५ वटा समिति मात्रै छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ८