विराटनगर, वैशाख ८ – कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला ले सरकार र सञ्चालनका सवै अप्ठ्यार थाहा पाएर पनि सरकारको विरोधन भएन भन्ने पार्टीका कार्यकर्तालाई आफूलाई सभापति र प्रधानमन्त्री पदबाट हटाएर देखाउन चेतावनी दिएका छन ।
पार्टीका सबै नेता र सभासदहरुलाई कुन तरवारको धारवाट सरकार सञ्चालन भएको छ भन्ने राम्रो हेक्का छ, पार्टीको मेची महाकाली जागरण अभियानअन्र्तगत सोमवार विराटनगरमा कोशी अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा कोइरालले भने, तर पनि उनीहरुले सरकारले यो र त्यो गर्न सकेन भन्छन् भने मलाई सरकार र सभापतिवाट हटाए भइगयो नि ।
विगतको भन्दा फरक शैलीमा प्रस्तुत भएका कोइरालाले भने, ‘के म जादुगर हुँ र ?’ कोइरालाले आफू पारदर्शी र नैतिक राजनीति गर्ने व्यक्ति भएको भन्दै सत्ता टिक्न मुलुक र लोकतन्त्रलाई अप्ठयारो पार्ने काम नगर्ने प्रतिबद्धता जनाए ।
सरकारको पहिलो प्राथामिकता बाँकी रहेको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याएर सुशासन कायम गर्ने र एकवर्षमा संविधान जारी रहेको उनको भनाई थियो । ‘ती कामको लागि सरकार सक्रिय छ’, कोइरालाले भने ।
‘तीन महिनामा मैले केही जादु देखाउन सकिनँ’, कोइरालाले भने, ‘मलाई कम्तिमा एकवर्ष काम गर्न देऊ अनि त्यसपछि मात्र मेरो सफलता असफलताको जोड घटाउ गर ।’
आपmनै कार्यकर्ताले आफूविरुद्ध नकरात्मक प्रचार गरेको भन्दै कोइरालाले एमाले नेता माधवकुमार नेपालप्रति पनि आक्रोश पोखे । ‘नेपालले मलाई प्रधानमन्त्री चलाउने अनुभव छैन भन्ने गरेको छन,’ उनले भने, ‘नेपालजीले आमाको भूँडीबाटै प्रधानमन्त्री चलाउने अनुभव लिएर आएका हुन् ?’
झण्डै ४ दर्जन बक्ता रहेको कार्यक्रममा कोइराला तीन घण्टा भन्दा बढी बसेका थिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ८