वैशाख ९ । अन्तर्राष्ट्रिय समुदायले सिरियामा जुन ३ का लागि तय गरिएको राष्ट्रपति चुनावको निन्दा गरेका छन । अमेरिकाले चुनाव गर्ने घोषणा प्रतिनिधित्वको इच्छा राख्ने मतदातामाथि सिरियाली सत्ताबाट गरिने नसंहार भएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले चुनावी योजना अस्वीकार गर्दै यसले सिरियामा जारी गृहयुद्ध अन्त्य गर्ने प्रयासमा बाधा पुग्ने प्रतिक्रिया दिनु भएको छ । यूरोपियन युनियनले पनि सिरियामा हुने राष्ट्रपति चुनावको घोषणालाई लोकतन्त्रको उपहास भनेको छ ।
चुनावमा सिरियाली राष्ट्रपति बशार अल असाद तेस्रो कार्यकालका पनि उठ्ने अनुमान गरिएको छ । यता सिरियाली सरकारले चुनाव सम्बन्धी नयां कानुन पनि बनाइसकेको छ । नयां कानुन अनुसार चुनाव लड्न इच्छुक व्यक्ति पछिल्लो १० वर्ष सिरियामा नै रहनु पर्ने व्यवस्था राखिएको छ ।
तर राष्ट्रपति असादको शासन विरुद्ध तीन वर्ष यताको गृहयुद्धका कारण अधिकांश विपक्षीहरुले मुलुक छोडिसकेका छन् । सिरियाली जनताले भने सिरियाली शासकका समर्थकले मात्र मतदान गर्ने बताएको बीबीसीले जनाएको छ ।
सिरियाका सरकारी अधिकारीहरुले विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा मतदान नहुने बताएका छन् । सिरियामा सन् २०११ यताको संघर्षका कारण १ लाख ५० हजार भन्दा बढी मानिस मारिइसकेका छन् भने लाखौ मानिस शरणार्थी बनेका छन् ।
Agencies