विजय दमासे
वुटवल, वैशाख ११ – सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलको पछिल्लो लापरबाही पर्दाफास भएको छ । उपचारका लागि ल्याइएको बालकको सट्टा मृत बालिका अभिभावकलाई जिम्मा लगाएपछि अस्पतालको लापरवाही प्रकाशमा आएको हो ।
बुधवार भीम अस्पताल भैरहवामा गोनाहाकी विद्या हरिजनले जन्माएको छोरा नरोएपछि बाबु कन्यैया हरिजनलगायतले अपरान्ह ४ बजे उपचारका लागि आम्दा अस्पताल बुटवलमा ल्याएका थिए । अस्पतालले राति करिब पौने १२ बजे मृत भन्दै अभिभावकलाई शिशु जिम्मा लगाएको थियो ।
शोकाकुल परिवारले बिहिबार बिहान अन्तिम संस्कार गर्ने क्रममा छोरी भएको थाहा पाएपछि अस्पतालमा खबर गरेका थिए ।
सुरुमा झुटो भनी पिडितको आरोप नस्विकारेको अस्पताल प्रशासनले, भीम अस्पतालको रेकर्ड पिडित पक्षले देखाएपछि मात्र उसले आफ्नो कमजोरी स्विकारेको थियो ।
पीडित पक्ष अस्पतालको चरम लापरबाहीको विरोधमा बिहिबार उत्रेपछि अस्पतालले आफ्नो कमजोरी स्विकारदै उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट गल्ती भएको भन्दै पन्छिएको थियो । उसले बच्चाको उपचार भैरहेको बताएको छ ।
अस्पतालले बालकको उपचार निशुल्क गरिदिने प्रतिबद्धता जनाउदै घटनाको छानबिनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको अस्पतालले जनाएको छ ।