वैशाख १२ । भारतमा हिजो भएको चुनावी हिंसामा ६ जनाको मृत्यु भएको छ । झारखण्डमा मतदान सकेर फर्कँदै गरेका सुरक्षाकर्मीहरु माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ५ जना मारिएका छन् ।
घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । भारतीय माओवादीले निर्वाचनलाई धोका भन्दै बिथोल्ने चेतावनी दिंदै आएका थिए ।
उता, कस्मिरमा अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक मतदान अधिकारीको मृत्यु भएको छ ।
भारतमा हिजो छैटौ चरणको निर्वाचन अन्तर्गत ११ राज्यका १ सय १७ सीटका लागि मतदान भएको थियो । मे १२ सम्म मतदान भइ १६ तारेखबाट मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
भारतीय लोकसभाको ५ सय ४३ सीट मध्ये बहुमत ल्याइ सरकार बनाउने पार्टीले २ सय ७२ सिट जित्नुपर्ने हुन्छ ।
यसैबीच, भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले वाराणसीबाट हिजो उम्मेदवारी दर्ता गराएका छन् । (एजेन्सी)