अर्जुन भुसाल
किमडाँडा, अर्घाखाँची वैशाख १४ । किमडाँडा-४ अर्घाखाँचीका ८८ वर्षिय ज्ञानवहादुर शाहिले दश वर्ष पछि भूमिसुधार तथा व्यवस्था मन्त्री दलवहादुर रानाको हातबाट आफ्नो जग्गा धनी प्रमाण पुर्जा पाउँदा निकै खुसी देखिन्थे । उनले विगत द्वन्द्वकालमा जलेका लालपुर्जा पुन नक्साङकन गरि पाएकोमा निकै खुसी लागेको बताए । बाचुञ्जेल पाइएला जस्तो थिएन उनले भने, नमर्दै पाइयो धेरै खुसी छु । लालपुर्जा उनले मात्र पाएनन उनी जस्तै धेरै वृद्ध वृद्धाले पनि पाए । लाल पुर्जा मन्त्रीको हातबाट पाउदा सबै दङ्ग देखिन्थे । वृद्धवृद्धाहरु पनि तन्नेरी जोसका साथ जग्गा धनी पुर्जा लिन आएका थिए ।
किमडाँडा- ४ का ८८ वर्षिय ज्ञानवहादुर शाहिले भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाबाट लालपुर्जा लिदै। तस्बिर: अर्घाखाँची डट्कम, अर्जुन भुसाल
किमडाँडा-६ की सेतीदेवी मल्ल पनि कम खुसी थिइनन । उनले मन्त्रीको हातबाट यसरी लालपुर्जा पाएको आफुले कहिल्यै नभुल्ने बताइन । जग्गा आफ्नो हो-होइन भन्ने ढुक्क पनि नहुँने उनले भनिन, कसैले मिचिदिनेहोकी भन्ने चिन्ताले सताउथ्यो, अब मन शान्त भयो । किमडाँडा-३ का खेमलाल अर्यालले आफ्नै गाउँमा भूमिसुधार मन्त्रीकै हातबाट लालपुर्जा पाउँनु खुसकिो कुरो भएको बताए । उनले किमडाँडा गाविसका नागरिकले सबै भन्दा पहिले लालपुर्जा पाउनु गर्भको कुरा भएको बताए ।
जिल्लामा २०६१ साल फागुन २० गते तत्कालिन नेकपा माओवादीले मालपोत र नापी कार्यालय आक्रमण गर्दा दुबै कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको थिए । अहिले जिल्लामा विशेष नापी स्थापना गरि जग्गाको कित्ता छुट्टाइ फिल्ड वुक बनाउने काम चलिरहेको छ । किमडाँडा गाविसमा पहिलो पटक लालपुर्जा वितरण गरियो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण समारोहलाई सम्वोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री दलवहादुर रानाले नयाँ पुर्जा वितरणको काम पनि द्वन्द्वको घाउ मेटाउने एउटा उपाए भएको औंल्याए । उनले लामो समय सम्म पुर्जा नवन्दा पनि द्वन्द्वको प्रभाव परिरहने भएकाले यो समस्यालाई छिट्टै हल गर्नुपर्नेमा जोड दिए । उनले आफूले भूमि सुधारको कामलाई आफ्नै कार्यकालमा टुङग्याउने बताए । विद्येयक संसोधनका लागि संसदमा पठाउने तयारी गरेको छु उनले भने, अब भूमि समस्या हल गरेरै छाडछु । उनले जमीनलाई विभिन्न भागमा विभाजन गर्ने तयारी भएको बताए । कृषि, आवास, व्यवसाय, उद्योग, वन र सार्वजनिक जग्गा गरि छ भागमा विभाजन गर्ने योजना छ उनले भने, जहाँ जेको लागि छुट्टाइन्छ त्यही काम गर्नुपर्छ । उनले सबैले जग्गाको लगत बुझाउने पर्ने भन्दै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कुनै पनि हालतमा कारवाहीको दायरामा ल्याएर छाड्ने ठोकुवा गरे ।
उनले सुकुमवासी र भूमिहिन समस्या हल गर्न आयोग गठन गर्ने बताए । दुई वर्ष भित्र काम सक्ने गरि योजना बनाउँदै छौं उनले भने । राजनीतिक प्रशंगमा मन्त्री रानाले समयमै संविधान निर्माण हुँनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे । उनले पहिलेको संविधानसभाले गरेका उपलव्धीलाई कार्यान्वयन गर्दै विवादित विषयमा सहमति गरि छिट्टै संविधान जारी गर्नुको विकल्प नभएको बताए । कार्यक्रममा नापी विभागका महानिर्देशक नागेन्द्र झाले जग्गाको कित्ता छुट्टाउने काममा स्थानियको सहयोग भरपुर चाहिने बताए । उनले भुमिको क्षेत्रमा धेरै समस्या र चुनौतिहरु रहेकाले समस्याहरुलाई पहिचान गरि हल गर्दै जाने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, विशोष नापी प्रमुख नारायण रेग्मी, नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, एनेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खडका, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, नेकपा-माओवादीका केन्द्रिय सदस्य भेषराज भुसाल, गाविस सचिव ताराप्रसाद पाख्रेल, निर्वतमान गाविस अध्यक्ष भरतमणि पौडेल, पत्रकार महासंघका सभापति शोभाखर पन्थी, स्थानिय नेताहरु हुम प्रसाद बञ्जाडे, नारायण अर्याल, हरि प्रसाद भुसाल, लोकनाथ भुसाल, जनता कृष्ण उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्राचार्य इश्वरी प्रसाद भुसाल लगायतले बोलेका थिए ।