दोलखा, वैशाख १४ । दोलखामा एकीकृत नेकपा माओवादीको समानान्तर कमिटि गठन भएको छ । पवटी गाविसमा हिजो भएको चौथो जिल्ला अधिवेशन स्थगित भए पछि एक समूहले आज समानान्तर कमिटि गठन गरेको हो ।
केन्द्रीय सदस्य एवं प्रतिनिधि जितबीर लामाले आज पत्रकार सम्मेलनको आयोजना गरी समानान्तर कमिटि गठन गरिएको घोषणा गरेका हुन् । सम्मेलनमा प्रतिनिधि लामा र नवनिर्वाचित अध्यक्ष बद्रीकुमार चौलागाईंले आफ्नो कमिटि आधिकारिक भएको दावी गरेका छन् ।
एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य एवं जिल्ला सम्मेलन संयोजक गंगाबहादुर कार्कीले भने यस बारे आफूलाई केही थाहा नभएको बताएका छन् । २१ सदस्यीय जिल्ला कार्य समिति भनि घोषणा गरिए पनि अध्यक्षमा चौलागाईंको बाहेक अन्य पदहरुमा कसैको पनि नामावली समावेश गरिएको थिएन ।
पार्टीभित्र डा.बाबुराम भट्टराईले नयां शक्ति निर्माण गरी अगाडी बढ्ने बताईरहंदा विभिन्न जिल्लामा कार्यकर्ताहरुले समानान्तर कमिटि गठन गरिरहेका छन् । IMAGEKHABAR