नयाँ विमानले जेठ १ गतेदेखि मुलुकभरिका उडान सुरु गर्ने, भाडा अरुभन्दा आधा

वैशाख १५, २०७१ । चीनबाट आइतबार काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमको नयाँ विमानले जेठ १ गतेदेखि मुलुकभरिका विभिन्न सेक्टरमा व्यवसायिक उडान सुरु गर्ने भएको छ। निगमले पहिलो चरणमा काठमाडौबाट भैरहवा, भद्रपुर, विराटनगर र धनगढीमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ।
५६ सिट क्षमताको एम ए ६० ले काठमाडौंबाट विराटनगरमा दैनिक उडान भर्ने निगमले जनाएको छ। भद्रपुरमा साताको तीन दिन, भैरहवामा तीन दिन र धनगढीमा साताको दुई दिन उडान भर्ने तालिका निगमले सोमबार सार्वजनिक गरेको छ। निगमले भद्रपुरको एकतर्फी भाडा ४ हजार १ सय ३० ताेकेको छ। 
त्यस्तै भैरहवाको ३ हजार १ सय ४५,विराटनगरको ३ हजार ५ सय ५ र धनगढीको ५ हजार ७ सय ४० भाडा निगमले ताेकेको छ।
आन्तरिक उडान गरिरहेका बुद्ध एयर र यति एयरलाइन्सले भद्रपुरको ८ हजार १ सय ६५ र भैरहवाको ६ हजार २ सय, विराटनगरको ७ हजार ७५ र धनगढीको ११ हजार ७ सय ९५ रुपैयाँ भाडा तोकेका छन्।
निगमले थप एउटा एम ६० र चार साना विमान पनि ल्याउँदै छ। SETOPATI