सरकारले महिनादिन अघि बढुवा भएका ३९ सहसचिवको पदस्थापना र अन्य ३१ सहसचिवको सरुवा

काठमाडौं-सरकारले महिनादिन अघि बढुवा भएका ३९ सहसचिवको पदस्थापना र अन्य ३१ सहसचिवको सरुवा गरेको छ। मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले महिनादिन अघि बढुवा भएका सहित जम्मा ७० जना सहसचिवको सरुवा र पदस्थापना गर्ने निर्णय गरेको हो।
बैठकले रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवको जिम्मेवारीसमेत तोकेको सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।
मन्त्रीपरिषदले झण्डै महिनादिन पहिले ४० जना उपसचिवलाई सहसचिवमा बढुवा गरेपनि कसलाई कहाँ लैजाने भन्ने विषयमा सरकारका मन्त्रीहरुवीचको दाउपेचको कारण पदस्थापना हुन सकेको थिएन। बढुवा भएपनि समयमै पदस्थापना हुन नपाउँदा सहसचिव अमलकिरण ढकालले जिम्मेवारीनै सम्हाल्न नपाई अवकाश पाएका थिए।
नयाँलाई पदस्थापनामा मात्रै होइन पुराना सहसचिवलाई कहाँ सरुवा गर्ने भन्ने विषयमा सरकारमा सहभागी मन्त्रीहरुवीच मतभेद देखिदै आएको थियो। महिनादिन अघिनै बढुवा भएका भरत सुवेदीलाई अर्थमन्त्री रामशरण महतले अर्थ मन्त्रालय लैजान खोजेपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र महतवीच मन्त्रीपरिषद बैठकमै चर्काचर्की भएको थियो।
मन्त्री पण्डितले विदेशी नागरिकता/पिआर लिएका कर्मचारीविरुद्ध कारवाही गर्ने अभियान चलाइरहेका वेला सहसचिव सुवेदीले अष्ट्रेलियाको पिआर लिएको खुलेपछि उनलाई अर्थ मन्त्रालय सरुवा गर्ने महतको चाहना रोकिएको थियो।
NAGARIKKNEWS