२० बैशाख, पोखरा । पोखराको चरक अस्पतालमा एक गर्भवतीलाई प्रसुति गराउन शल्यक्रिया गराउने क्रममा आमा र बच्चा दुबैको ज्यान गएपछि मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन् ।
शुक्रबार बेलुका अस्पतालमा भर्ना गरिएकी कास्कीको कोट गाविस- ४ चिलिमे डाँडाकी २२ वर्षीया विष्णु थापाको प्रसुतिका लािग शल्यत्रिया गराउँदा आमा र बच्चा दुबैको मत्यु भएपछि पीडितहरु आक्रोशित भएका हुन् ।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीबाट आमा र बच्चाको ज्यान गएको जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् ।
अस्पतालको गेटअगाडि भेला भएर पीडित परिवारले प्रदर्शन गरेपछि पीडित पक्ष र प्रहरीबीच झडपको अवस्था पनि भएकेा थियो ।
मृतकका आफन्तले पहिलोपटक कागजमा सही गराएर अप्रेशन गरेपछि चिकित्सकहरुले पुनः अप्रेशन गर्नुपर्ने भन्दै अर्को कागजमा मृतकका ससुरालाई सही गराएका थिए । दोस्रो पटक सही गराएर अप्रेशन गर्न पसेका डाक्टरले आमा र बच्चा दुबैको मृत्यु भएको बताउँदै अप्रेशनकक्षबाट निस्केपछि पीडित परिवार स्तब्ध र आक्रोशित भएका थिए ।
आमा र बच्चाको मृत्यु भएको चरक अस्पतालमा गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुलाई प्राक्टिकल गराइने गरिएको छ ।
आमा र बच्चा दुवैको चरक अस्पतालमा मृत्यू भएपछि उनका आफन्तले शल्यक्रिया गर्ने डाक्टरको गल्तीले मृत्यू भएको भन्दै नाराबाजीसहित आन्दोलन जारी राखेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले दुबैपक्षबीच बार्ता गराएर समस्याको समाधान खोज्ने प्रयास गरिरहेको छ ।
ONLINEKHABAR