धनुषा, वैशाख २१ – जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद सञ्जयकुमार साह पक्राउ परेका छन्।
प्रहरीका अनुसार साहलाई पर्साको बीरगञ्ज नजिकै छपकैया (नेपाल-भारतसीमा) क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीको विशेष टोलीले उनलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जनकपुर बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनलाई खोजिरहेको थियो ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
साहलाईआइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ।
विसं २०६९ वैसाख १८ गते नेपालको सङ्घीय संरचनामा मिथिला राज्य स्थापनाको संवैधानिक सुनिश्चितताको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिद्वारा रामानन्दचोकमा गरिएको शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिहरूमाथि बम प्रहार गर्न लगाउने भनिएका मुकेश चौधरीलाई पक्राउ गरेपछि गरिएको अनुसन्धानले साह यस घटनाको मुख्य अभियुक्त भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।
चौधरीलाई नेपाल प्रहरीले गत फागुन १८ गते धनुषा जिल्लाको नगराइनबाट पक्राउ गरेको थियो। साह सद्भावना पार्टीका उपाध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका सभासद् हुन्। प्रहरीले यसअघि साहलाई पक्राउ गर्न सम्बन्धित निकायहरूमा चैत २ गते नै पत्राचार गरिसकेको थियो ।
SETOPATI