वैशाख २३ । नाईजेरियामा विद्यालयबाट अपहरण गरिएका बालिकाहरुलाई आतंकबादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ । तीन साता अघि उत्तरी नाईजेरियाको बोर्नो राज्यको चिबोक शहरस्थित अंग्रेजी माध्यममा पढाई हुने विद्यालयबाट ती २ सय ३० जना बालिका अपहरण गरिएका थिए ।
बोको हरामका नेता अबुबाकर सेकउले भिडियो संदेश जारी गरी बालिकाहरुलाई आफ्नो समूहले अपहरण गरी बन्धक बनाएको र उनीहरुलाई बेचविखन गर्ने तयारी भईरहेको जानकारी दिएका हुन् । उनले बालिकाहरु आफ्नो सम्पति भएको र भगवानले उनीहरुलाई बेच्नु भनी आदेश दिएकाले त्यसैलाई पालना गर्न लागिएको बताएका छन् ।
बोको हरामले अंग्रेजी माध्यममा पढाई हुने विद्यालयहरुमा दर्जनौ पटक आक्रमण गरी पश्चिमा शिक्षाको विरोध गर्दै आएको छ । नाईजेरियाली भाषामा बोको हरामको शाब्दिक अर्थ पश्चिमा शिक्षालाई अनुमति छैन भन्ने रहेको छ ।
अपहरित बालिकाहरुको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइृजेरियाली सरकारको चौतर्फी आलोचना भएको छ । राष्ट्रपति गुडलक जोनाथनले बालिकाहरुको उद्धारमा कुनै कसर बांकी नराख्ने प्रतिबद्धता दोहोरयाउनु भएको छ । मुस्लिम राज्यको वकालत गर्दै सन् २००९ बाट हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामको आक्रमणमा परी सयौंले ज्यान गुमाईसकेका छन् ।
Agencies