विराटनगरमा बिहीबार सुरु भएको एमाओवादी राष्ट्रिय सम्मेलन ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरी सकिएको छ । सम्मानजक बाँडफाँड नभएको भन्दै नेता बाबुराम भट्टराई पक्षीय नेताहरुले नबस्ने घोषणा गरेपछि उनीहरु बिनै केन्द्रीय कमिटी घोषणा गरिएको हो ।
विराटनगर , वैशाख २३ – एनेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मतले चयन भएका छन्। सातौं महाधिवेशनको राष्ट्रिय सम्मेलनले मंगलबार चुनेको ९९ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्षमा दाहाललाई चुनेको हो। राष्ट्रिय सम्मेलनले केहीबेरअघि ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टाईले भने केन्द्रीय समिति चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सम्मेलनको बन्दसत्र छाडेका थिए। दाहाललाई आफ्नै इच्छाले एक्लै पार्टी चलाउनुस् भनेर भट्टराईले बन्दसत्र छाडेको केहीबेरमै सम्मेलनले ९९ सदस्यीय समिति फाइनल गरेको हो।
यसपछि नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए भने पोष्टबहादुर बोेगटीले समर्थन गरेका थिए। एमाओवादीको केन्द्रीय कमिटीको अर्को बैठक जेठ १ गते बस्नेछ। भट्टराई बुधबार चीन जाने भएकाले उनी फर्केपछि अर्को केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको हो।