आफ्ना साढुभाइ कनिष्ठ सहसचिवलाई महानिर्देशक बनाउने स्थानीय विकासमन्त्री प्रकाशमानको निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनको आदेश

काठमाडौ, वैशाख २३ – पुनरावेदन अदालत पाटनले ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) का दुई वरिष्ठलाई हटाएर कनिष्ठलाई महानिर्देशक बनाउने स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निर्णय कार्यान्वयन नगर्न मंगलबार आदेश दिएको छ ।
सिंहले मन्त्रालयस्तरीय निर्णय गराई वैशाख १९ मा डोलिडारका महानिर्देशक भीमप्रसाद उपाध्यायलाई मन्त्रालयमा काजमा खटाएका थिए । त्यही दिन नै उपाध्यायपछिका वरिष्ठ नायब महानिर्देशक रामकृष्ण सापकोटालाई समेत अन्यत्रै काज सरुवा गरेर आफ्ना साढुभाइ कनिष्ठ सहसचिव जीवनकुमार श्रेष्ठलाई महानिर्देशक बनाएका थिए ।
पुनरावेदन अदालत पाटनले उपाध्याय र सापकोटालाई काजमा खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । काजमा खटाइएकाको स्थानमा अर्को मान्छे नियुक्ति गर्न नमिल्ने निजामती ऐनको दफा १८ (क) विपरीत मन्त्री सिंहले उपाध्याय र सापकोटालाई हटाई आफ्ना नातेदारलाई जिम्मेवारी दिएको भन्दै अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख २३