मावि तहको अन्तर्वार्ताको परीक्षाफल प्रकाशित, २०६३ पछिका अस्थायी शिक्षकलाई हटाइने

वैशाख २४ – शिक्षक सेवा आयोगले हिजो मंगलबार अबेर मावि तहको अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ।
 
आयोगले सुदूरपश्चिम विकास क्षेत्रअन्तर्गत सामाजिक विषयको अन्तर्वार्ता सार्वजनिक गरेको छ। आयोग उपसचिव नारायण शर्माले आयोगले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट परीक्षाफल प्रकाशित गर्न शुरू गरिएको जानकारी दिए ।
 
सो विकास क्षेत्रको कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, दार्चुला, बाजुरा, बैतडी, बझाङ र डोटी जिल्लाको सामाजिक विषयको परीक्षाफल प्रकाशित गरेको आयोगले जनाएको छ। अन्तर्वार्ताको नतिजा प्रकाशित भएलगत्तै स्थायी शिक्षकहरू विद्यालयमा प्रवेश गर्ने भएका छन्।
 
आयोगले वैशाख महिनाभित्र मावि तहमा अन्तर्वार्ता दिएका ४ हजार ८ सय ६३ मध्ये २ हजार २ सय ८६  जना उत्तीर्ण हुनेछन्।
 
उपसचिव शर्माले जेठ महिनाभित्र सबै शिक्षकको नियुक्ति सम्पन्न गरी असार महिनाभित्र सम्बन्धित क्षेत्रमा शिक्षकको सिफारिस गरी पठाइने बताए। मंगलबारबाट माविको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेपछि निमाविको शुरू गर्ने आयोगले जनाएको छ। निमाविको अन्तर्वार्ता आज बुधबारसम्म सञ्चालन हुनेछ भने प्राविको अन्तर्वार्ता जेठ ३ गते एकैदिन सम्पन्न हुनेछ। आयोगले निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ र प्राथमिक तहमा ७ हजार ९ सय ८० जना शिक्षक छनोट गर्नेछ।
 
निमावि तहमा ५ हजार ६ सय ३२ र प्रावि तहमा ११ हजार १ सय ४० गरी २१ हजार ६ सय ३५ जना अन्तवार्तामा  सहभागि हुँदैछन। १७ वर्षपछि विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले  गत वर्ष १३ हजार ५९ दरबन्दीका लागि विज्ञापन खुला गरेको थियो।  
 
सबै तहको परीक्षा गत जेठ ९ देखि ११ गतेसम्म संचालन भएको थियो।  आयोगले यसअघि २०५२ सालमा परीक्षा लिएर २०६० सालमा नतिजा  प्रकाशन गरेको थियो।  नयाँ शिक्षकको पदपुर्तिका लागि ४  लाख १३ हजार २ सय ६९  जनाले परीक्षा दिएका थिए। अन्तर्वार्तामा सबै तहको  गरी ८ हजार ५ सय ७६ जना बढी परीक्षार्थी सहभागी भएका छन्।   अन्तर्वार्ताको पक्रिया सकिएलगत्तै आयोगले  ७  हजार शिक्षक पदको लागि आवेदन खुला  गर्ने  तयारी गरेको छ। देशभरका रिक्त रहेका शिक्षकको तथ्याङ्क संकलन गर्नासाथ  साउन महिनाभित्रै नया विज्ञापन खुला गर्ने जनाएको छ। ०७० साउनदेखि ०७२ असार सम्मको रिक्त भएको पदको तथ्याङ्क आउनासथ विज्ञापन खुला गर्ने  जनाएको छ।
 
आयोगले मावि तहको  परीक्षाफल प्रकाशित गरेसंगै अस्थायी शिक्षक निष्कासिसत हुने भएका छन्। SETOPATI