विराटनगर, वैशाख २४ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमासम्पन्न राष्ट्रिय सम्मेलनसँगै पार्टी पुनर्निर्माणको दिशामा अघि बढेको बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले डा.वावुराम भट्टराई लगायतका नेताले केन्द्रीय नेतृत्वको पद हाललाई त्याग गर्नुलाई पार्टी पुनःनिर्माणको महान् अभियानको संज्ञा दिए ।
अध्यक्ष प्रचण्डले नेता भट्टराईलगायतका नेताहरुले पार्टी नछाडेको र यसलाई पार्टी विभाजनको रुपमा नहेर्नसमेत सबैलाई आग्रह गरे । भट्टराईले भने जस्तो गरी आफूले आफ्ना मान्छे मात्रै नखोजेको जिकीर गर्दै उनले त्यस्तो चाहेको भए केन्द्रीय कमिटीमा भट्टराईलाई दुई नम्बरमा किन प्रस्ताव गर्थे भने ।
यसअघि, हिजो बाबुराम भट्टराई पक्षको बहिष्कारबीच सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई फेरि चुनेको थियो । प्रचण्डले ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेपनि भट्टराई र उनी पक्षीय नेताहरुले भने केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका थिए । प्रचण्डद्वारा प्रस्तावित समितिमा आफ्ना मान्छे कम परेको तथा आफ्नै भन्नेहरुले पनि कित्ता परिवर्तन गरेर प्रचण्डतिर लागेपछि भट्टराइ पक्षले बन्दसत्र नै बहिष्कार गरेको थियो ।
भट्टराईले बन्द सत्र बहिष्कार गरेपछि नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा पोष्टबहादुर बोगटीको समर्थनमा प्रचण्ड अध्यक्ष बनेका हुन् । IMAGEKHABAR