मानवीय मूल्य गुमाएको मेरो देश

अमृत भण्डारी, सेतोपाटी
दुर्भाग्यवस,केही दिन अगडि अर्घाखाँचीमा भएको बस दुर्घटनामा परि डाक्टर विष्णु आचार्य र उहाँका बुवाआमाको मृत्यु भएको छ । आचार्य परिवार नाताका हिसाबले मेरा बुढामावलीहरु । विष्णु आचार्य, दाजु । व्यक्तित्वको हिसाबले आखाँमा राखेपनि नबिझाउने विष्णु । सधै सबैको भलो चाहने । जन्म मानव जीवनका लागि अस्थायी सत्य हो भने मृत्यु स्थायी । जन्मले आशा दिन्छ । मृत्युले शोक । आफ्ना परिवारजनको मृत्युको वास्तविकतालाइ स्वीकार गर्न जति कठिन कार्य सायद जीवनमा कही हुँदैन होला । अझ त्यसमा पनि कुनै दुर्घटनाबाट आकस्मिक र अकल्पनीय रुपमा हुँने मृत्युले बढी पीडा दिदोरहेछ । बिरामी परेर सयको हाराहारीको उमेरमा आफन्त गुमाउँदा त मन कति अशान्त हुन्छ । तर कलिलै उमेरमा हुने मृत्यु र त्यसबाट मानीसको जीवनमा पर्ने अभावले पीडाका खाटा बल्झाइदिदो रहेछ ।
विष्णु दाजु र परिवारका मावली बुवाआमासँग विताएका क्षण मात्रै सम्झनामा बाँकी रहे अब । दाजुले जापानबाट फर्के लगत्तै काठमाडौका थुप्रै अस्पतालमा काम पाउनु भएको थियो । झण्डै ६ महिना जस्तो काठमाडौमा काम गर्नुभयो । त्यसपछि उहाँकै साथी डाक्टर चित्राप्रसाद शर्मा वाग्ले थाइल्याण्ड अध्ययनका लागि जाने भनेपछि जिल्लामा डाक्टरको आवश्यकता हुने भएकोले आफ्नै जिल्ला गएर विरामीको सेवा गर्ने इच्छा देखाउनुभयो । बिडम्वना नै भएको छ । थाइल्याण्ड पढ्न गएका उहाँका साथीलाई पनि एक्कासी निकै नहुने क्यान्सरले गाजेपछि गत वर्ष नै मृत्यु भयो । उनकै आग्रहमा अर्घाखाँची अस्पतालमा कार्यरत डाक्टर विष्णु आचार्यको पनि बस दुर्घटनामा भएको मृत्युले जिल्लावासीलाई निकै निराश बनाएको छ ।
डाक्टर चित्रा पनि निकै समाजसेबी व्यक्ति । उनलाई परेको पीडामा पनि सरकारबाट कुनै सहयोग भएन। आखिर मृत्यु, स्वासत सत्यलाई उनले टार्न सकेनन् । काठमाडौमै बसेर राम्रो काम गर्न सक्ने दाजु विष्णुले पनि समाजसेवाका लागि आफ्नै जिल्ला र गाउँ रोज्नु भएको थियो । सम्झना ताजा छन्, मेरो मानसपलटलमा । सधै गाउँका लागि केही गर्न उर्जा दिने दाजुसँग वितेका क्षण । जापानबाट फर्कने समयमा होस वा हरेक दसैंका समयमा हामी अर्घाखाँची जाने समय सधै एउटै परिवार भएर एकै गाडीमा यात्रा गर्ने गर्थ्यौ । हरेक दसैंमा उहाँ गाउँमा स्वास्थ्य शिविर सञ्चालनका लागि निकै कृयाशील हुनुहुन्थ्यो । म उहाँको उर्जा र गाउँको सेवा गर्ने इच्छा देखेरै उहाँसँग म निकै नजिकिएको थिए ।
उहाँ कामका लागि अर्घाखाँची जाने निर्णयमा म त्यति खुसी थिइन । उहाँले भन्नुभयो “हेर हामी पढेलेखेका छौ । हामीले देशका लागि ठूलो योगदान पुर्‍याउन नसके पनि आफ्नो गाउँ र जिल्लाका लागि केही गर्नुपर्छ । अहिले जिल्लामा डाक्टरको आवश्यकता छ । म एक डाक्टर हुँ । केही समय मलाई जिल्लामा बसेर विरामीको उपचार गर्ने मन छ । त्यसका लागि मलाई कसैले नरोक ।” उहाँको कुरा सुनेर म निशब्द भए । उहाँ जिल्ला जानुभयो । बिरामीको उपचारमा कृयाशील हुनुहुन्थ्यो । जिल्लाबासी निकै खुसी थिए । जिल्लामा बस्दा पनि उहाँले विभिन्न स्थानमा निशुल्क स्वास्थ शिविरको आयोजना गर्नुभयो ।
हरेक दसैंमा स्वास्थ्य सेवामा पहुँच नभएका व्यक्तिका लागि वाङ्गलामा शिविर सञ्चालन हुन्थ्यो । उक्त शिविरका लागि दाजुले काठमाडौका विभिन्न अस्पतालका डाक्टरसँग मलाइ चिनजान गराउनु भएको थियो । सम्झना ताजा छ । ओम अस्पतालमा उहाँका साथी विश्वनाथ कोइरालासँग सँगै बस्दा विश्वनाथले काठमाडौमा बसेर केही गर भनेको । दाजुले जिल्ला जाने कुरामा कहिले सम्झौता गर्न चाहनु भएन । हरेक वर्षको दसै नजिकिदा दाजु र म काठमाडौका विभिन्न स्थानमा ‌औषधि खोज्न हिड्थ्यौ । गाउँका स्वास्थ्य क्षेत्रमा लागेका युवालाई शिविर सञ्चालनका लागि दाजु एक प्रेरणाको स्रोत हुनुहुन्थ्यो । एक किसिमले गाउँमा दसै आयो कि विरामीहरुले उपचार पाउने आशामा बसेका हुन्थे । कयौ विरामी त ठूलो रोग लागेर पनि उपचार गराउन नपाएका हुन्थे । उनीहरुलाइ तुरुन्तै जिल्ला अस्पतालमा रिफर गर्नुहुन्थ्यो । विरामी र दुखीका लागि विष्णु दाजु सधै आशाको केन्द्र बन्नुभयो । सबैको प्यारो बन्नुभयो । सकेजति सेवा दिन कहिले हिचकिचाउनु भएन । नियति नै भन्नुपर्छ । यस्तै प्यारो मान्छे भगवानका लागि पनि प्यारो बन्दोरहेछ ।
दाजु र परिवारका सदस्यको अकालमा भएको यस मृत्युले मेरो जीवनमा पनि एउटा ठूलो अभाव खड्काएको छ । खासगरि मेरा बुवाआमाको हरेका सङ्घर्षमा मावली बुवाआमा सधै सहयात्री बन्नुभयो । बाचुन्जेलको पारिवारीक सम्वन्धले गर्दा उहाँको मृत्युले मेरो परिवारमै एक ठूलो अभाव सिर्जना गरेको छ । अझ भाउजु र छोरीको जीवनमा यसले कति असर पार्छ म कल्पनासम्म गर्न सक्दिन ।
नेपालमा हरेक महिना जस्तो यस्ता दुर्घटना हुन्छन् । धेरैले यस्ता दुर्घटनामा ज्यान गुमाउँछन् । सबैका लागि पीडा र चोट उस्तै हुन् । मृत्युमा आफ्ना मानिसलाइ हुने पीडा अरु कसैले पनि महसुस गर्न सक्तैन । त्यति अभावको महसुस कसैलाइ हुुँदैन । यस दुर्घटना पछि म निकै विव्क्षिप्त भए । काममा पनि जाँगर कम भयो । म अमेरिका आउने समयमा दाजुले भन्नु भएको थियो । “पढ । डिग्री लेउ । अनि नेपाल आउ । हामीले यहाँ गर्नु पर्ने काम धेरै छन् ।”उहाँले यस्तै भन्दै विदा गरेको सम्झना अझै ताजा छ ।घटनापछि मेरो निराश अनुहारलाई देखेर नेपाली साथीले मलाइ सोध्दै गए । मैले घटनाको जानकारी गराए । सबैको एउटै कुरा थियो । नेपालमा सधै यस्तै हो । मानव जीवनको कुनै मूल्य नै छैन । दाजु नेपालमा नफर्किनु पर्ने । यस्तै यस्तै ।
जबजब नेपालका यस्ता घटना सुन्न पाइन्छ । त्यसपछि नेपाल फर्कने योजना बनाएका नेपालीले पनि सोच्न बाध्य हुन्छन । हो दुर्घटना जहाँ पनि हुन्छन । केही दुर्घटना टारेर पनि टर्दैन । तर विदेशमा दुर्घटना हुँदा त्यसबाट पाठ सिकिन्छ र भविष्यमा दुर्घटना नहुनका लागि धेरै किसिमका योजना बनाइन्छ । तर नेपालमा दुर्घटना हुँदै जान्छन् । पाठ कहिले सिकदैन । अमेरिकामा भएदेखि १९ जनाको ज्यान जानु यहाँका लागि देशभर ठूलो समाचार हुन्थ्यो । राष्ट्रपति नै परिवारका सदस्यलाइ भेट्न जान्थे । नेपालमा दुर्घटना पछि त्यति मानवीयता देखाउने सम्म काम हुँदैन सरकार पक्षबाट भने अरु के नै आशा गर्न सकिन्छ ।
किन मानिसहरु नेपालमा दुर्गमगाउँठाउँमा जान मान्दैनन् ? किन सधै नेपालका दुर्गम गाउँमा डाक्टरको अभाव हुन्छ ? यस्तै घटना हुन, जसले हजारौ युवालाई सोच्न बाध्य बनाउँछ । जहाँ मानवीय मूल्य हुँदैन त्यहाँ कहिले पनि विकास हुँदैन । नेपालमा सधै यस्तै भएको छ । म नेपालका प्रधानमन्त्री शुसील कोइरालालाई प्रश्न गर्न चाहन्छु । प्रधानमन्त्री ज्यू कति नेपालीको मृत्यु हुनुपर्छ अझै र मात्र नेपालमा सडकको विकास हुन्छ रसार्वजनिक यातायातका साधन चलाउने चालकलाइ विषेश किसिमको तालिम दिइन्छ ? कति जनाको ज्यान गएमा मात्रै यहाँको ध्यानाकर्षण हुन्छ, उनीहरुका परिवारलाई सान्त्वना दिनका लागि ? के तपाइसँग कुनै मानवीय मूल्यमान्यता छन् ? १९ जनाको ज्यान जाँदा पनि तपाईँले परिवारलाई सान्त्वना दिने कष्ट गर्न सक्नु भएन । तपाईँलाई नेपाली जनताको प्रधानमन्त्री कसरी भन्ने । कुनै काम नपाएर रिवन काट्न जाने मन्त्रीलेसम्म कुनै वक्तव्य निकाल्न भ्याएनन् । कति गैरजिम्मेवारी छ नेपालको संयन्त्र ।
यदि लाजसरमको कुनै हेक्का भए अर्घाखाँचीमा १९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना पछि प्रधानमन्त्री नै दुर्घटनास्थल पुगेर आफन्त गुमाएका सबैलाइ सान्त्वना र मृतकलाइ श्रध्दान्जली दिनु पर्थ्यो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलेसम्म त्यति हेक्का राख्न सकेनन् । यसबाट थाहा हुन्छ कि सरकार जनताको जीउज्यानको सुरक्षाका लागि कति सम्वेदनशील छ ।
जुन देशमा कहिले पनि गल्तिबाट पाठ सिकेर अगाडि बढिदैन । त्यस देशमा नागरिकहरु सधै लास बन्न तयार हुनु पर्दछ । दुर्घटनाको समाचार बन्न तयार हुनु पर्दछ ।जुन देशमा चालकलाइ १८ हजारमा मानिस मार्ने लाइसेन्स दिइन्छ । त्यस देशका नागरिक कुनै पनि बेला सडक दुर्घटनामा पर्न र मर्न तयार हुनुपर्छ । चालकलाइ सार्वजनिक यातायातका साधन चलाउनका लागि जुन देशमा कुनै योग्यता वा तालिमको आवश्यकता भएको राज्यले कहिले महसुस गर्दैन । त्यस देशका नागरिक यात्रा गर्दा निरन्तर मर्नका लागि तयार हुनुपर्छ ।
सार्वजनिक यातायातका साधन चलाउने चालकले कति ठूलो जिम्मेवारी बोकेको हुन्छ भन्ने कुरालाइ कुनै पनि पक्षबाट हेक्का गरिदैन । त्यसैले एक पछि अर्को दुर्घटना हुदै जान्छन । अनि बाच्नेले शोक मनाउदै बस्नु बाहेक अन्य कुनै विकल्प हुँदैन ।
बाटोको अव&#2360