तेल चोरीमा संलग्नहरुलाई कारबाही गर्न र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन माग गर्दै बुटवलमा विरोध प्रदर्शन

भैरहवा, वैशाख २५ । तेल चोरीमा संलग्नहरुलाई कारबाही गर्न र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा एमालेले बुटवलमा विरोध प्रदर्शन गरेको छ । 
अभियुक्तलाई जोगाउने उद्देश्यले व्यवसायीहरुले तेल ढुवानी बन्द गरेपछि पेट्रोलियम पदार्थको हाहकार भएको भन्दै एमालेआवद्ध विभिन्न संगठनले आज बुटवलमा प्रदर्शन गरेका हुन् ।
तेल चोरीमा संलग्न गिरोहलाई तुरुन्त गिरफ्तार गरी कडा कारबाही गर्न माग गर्दै उनीहरुले बजार परिक्रमा गरे । पुष्पलाल पार्कबाट सुरु भएको विरोध र्‍यालीले अमरपथ हुँदै नगर परिक्रमा गरेको थियो ।
तेल चोरी प्रकरणमा प्रहरीले ट्याकंर धनीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि आन्दोलनमा उत्रिएका व्यवसायीले ढुवानी ठप्प पारेका छन् ।
वैशाख १६ गते रुपन्देहीको मधवलीया र पडसरी क्षेत्रमा तेल चोरी गरी जमिनमुनी लुकाउँदै गर्दा प्रहरीले १९ ट्याकंर, १७ हजार लिटर तेल र २२ जना मजदुरलाई पक्रेको थियो । IMAGEKHABAR