कोमल भट्ट,
काठमाडौँ
हाल : न्युयोर्क
(पोस्टराज चापागाईं ज्यूको
नयाँ छन्दमा आधारित गज़ल)
आशै आशमा,बित्छ जिन्दगी
रोजै दासमा,बित्छ जिन्दगी
मायाँ गर्छ को,यो प्रवासमा ?
जाली पाशमा,बित्छ जिन्दगी
सोची ल्याउँदा,छैन हर्ष नै
ठूला भासमा,बित्छ जिन्दगी
पूरै देहमा,पोल्छ दर्दले
पीडा रासमा,बित्छ जिन्दगी
वस्ती लाग्छ याँ,शून्य घाट झैं
रूखा वासमा,बित्छ जिन्दगी
दैवी खेल हो,या त धृष्टता ?
तीता गाँसमा,बित्छ जिन्दगी
मातृभूमि नै,स्वर्ग जान्नु है
खुल्ला सासमा बित्छ जिन्दगी