२०७१ बैशाख २५ बिहीवार – एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गति लिइरहेको खुलासा समेत गरे। नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको महान अभियानमा डा.बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु सक्रिय भएको बताए।
साक्षात्कारमा रायमाझीले देशलाई निकास दिने खाका वर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको तर्क गरे। ‘देशको आवश्यकता अनुसारको नयाँ पार्टी छिट्टै बन्छ,’ रायमाझीले भने,’नयाँ पार्टी रुपान्तरण सहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजना सहितको हुनेछ।’
परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहे अनुरुपको रुपान्तरण एनेकपा माओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान वाध्य भएको स्पष्ट पारे। नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको खुलासा समेत गरे। एनेकपा माओवादीको संस्थापन पक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहन सकिने र नमिले पछि अलग हुने परिपाठी सामान्य र स्वाभाविक भएको बताउँदै नयाँ पार्टी गठनको सम्भावना बारेको अभियान चलिरहेको बताए।
एनकेपा माओवादीसँग कहिले अलग हुने भन्ने प्रश्नमा उनले भने,’तत्काल माओवादीभित्रै बसेर संघर्ष गर्छौं तर नयाँ शक्ति निर्माण अभियान रोकिदैन।’ देशमा राजनीतिक ध्रुवीकरण तिव्र भएको उल्लेख गर्दै नयाँ शक्ति बन्ने निश्चित भएको बताए। ४० प्रतिशत संविधानसभा सदस्य संख्या पुर्याउन नसकेर तत्काल नयाँ पार्टी बनाउने कदमलाई रोक्नुभएको हो भन्ने प्रश्नमा रायमाझीले भने,’पदसदका कुरा छाड्नुहोस्, प्रतिशतका कुरा पनि छाड्नुहोस्, आवश्यक पर्दा एक्लै जानेछौं।’ आफूहरुका लागि सभासद् पद ठूलो नभएको तर देशको आवश्यकता अनुरुपको नयाँ शक्ति निर्माण महत्वपूर्ण भएको बताए।
माओवादी भित्र मात्र नभई देशभर रुपान्तण र परिवर्तन सहितको शक्तिको आवश्यकता महशुश भइरहेको तर्क गरे। देश र जनताको चाहना अनुसार समय सापेक्ष परिवर्तन सहितको पार्टी गठन हुँदा नाम भन्दा विचार, योजना र कार्यक्रमले प्राथमिकता पाउने स्पष्ट पारे।
माओवाद छाड्नेबारे बहस अगाडि सारिएको समेत बताए। नयाँ पार्टीमा कम्युनिष्ट नाम हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने,’नामभन्दा काम मुख्य हो।’ आफूहरु रुपान्तरण सहितको मार्क्सवादको पक्षमा रहेको स्पष्ट पारे।
डा.बाबुराम भट्टराईको चीन भ्रमणमा राजनीतिक भेटहरु समेत हुने बताए। भ्रमण निजी भएपनि राजनीतिक भेटघाट स्वाभाविक भएको उनको भनाई थियो। भ्रमण नयाँ पार्टी निर्माणको अभियान अर्न्तर्गत हो भन्ने प्रश्नमा उनले भने,’यसलाई निजी भ्रमणका रुपमा लिनुहोस्।’
माओवादी अध्यक्ष प्रचण्डले पद त्याग गरे विवाद सुल्झन्छ भन्ने प्रश्नमा व्यक्ति विशेषमाभन्दा विचारमा संघर्ष भइरहेको बताए। आफूहरुले प्रचण्डको विकल्पमा अर्को अध्यक्ष हुनुपर्छ नभनेको बताए। आफूहरु केन्द्रीय समितिमा आउने नआउने भन्दा पनि आवश्यकता महशुश गरी संघर्षमा गएको स्पष्ट पारे। नेतृत्व चयनको विधि, प्रक्रिया र मापदण्डमा मतान्तर भएको खुलाए। भिन्नमतलाई सम्मान गर्न नसक्नेहरुबाट पार्टी एक ढिक्का हुनन सक्ने स्पष्ट पारे। बाबुरामलाई महत्वपूर्ण पदमा ल्याउन भूमिका खेलेर गल्ती गरिएछ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्तिको आलोचना गर्दै कसैको दयामायाले बाबुराम वा अरु कोही माओवादी नेता नबनेको बताए। उनले भने,’न कसैको दयाले प्रचण्डजी अध्यक्ष बन्नुभएको हो न बाबुरामजी अहिलेको अवस्थामा पुग्नुभएको हो।’ बाबुरामले क्षमता प्रदर्शन गरेर राजनीतिक उचाई हासिल गरेको उनको भनाई थियो।
एक अर्को प्रसङ्गमा रायमाझीले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिको सिफारिशप्रति असन्तुष्टि व्यक्त गरे। सिफारिश बारे प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले संसदीय समितिमा आएर स्पष्ट पार्नुपर्ने बताए। सिफारिश नाम फिर्ता हुनुपर्नेमा उनको जोड थियो।
Source: SETOPATI