नेपाल आयल निगम पश्चिमाञ्चाल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख पक्राउ

२०७१ बैशाख २५ बिहीवार ‘ नेपाल आयल निगम पश्चिमाञ्चाल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख नागेन्द्र कुर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध डिजेल चोरी भएको घटना सार्वजनिक भएको १० दिनपछि प्रहरीले अनुसन्धानका क्रममा निगम प्रमुखलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका प्रमुख कुर्मीलाई जिल्ला अदालत रुपन्देहीबाट तीन दिनको म्याद थपी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।प्रहरीले यसअघि निगमकै तेलको मापदण्ड नाप्ने दुईजना अधिकृत देवेन्द्र बस्नेत र रवीन्द्रकुमार राउतलाई पक्राउ गरिसकेको छ ।
प्रहरी प्रमुख थापाका अनुसार चालक, सहचालक र यसअघि पक्राउ गरि अनुसन्धानमा राखिएका दुईजना अधिकृतको बयानका आधारमा डिजेल चोरीमा निगम प्रमुख कुर्मीको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले तेल चोरीको आरोपमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ, पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष हरिबहादुर कुँवर, वर्तमान अध्यक्ष राकेशकुमार कसौधन, वरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे, दयाशङ्कर कसौधन, प्रेमराज गैरे, विनोद उप्रेती, पशुपतिनाथ कसौधन, लप्पु चौधरी, विकास क्षेत्री, रामचन्द्र अधिकारी, श्रवणकुमार श्रेष्ठ, रुद्र शर्मा, प्रिती जयसवाल, पिङ्की कलबार जयसवाल र पप्पुकुमार कसौधनलाई पक्राउ पुर्जी काटी खोजी गरिरहेको छ ।
ती व्यवसायीमाथि आयल निगम पुर्‍याउनुपर्ने तेल बीच बाटोमै ट्याङ्कर रोकेर योजनाबद्ध रुपमा चोर्ने काम गरिआएको आरोप लगाइएको छ । ती व्यवसायी फरार रहेको प्रहरीले जनाएको छ । रासस
.