अख्तियारद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छापा, कयौ सामग्री बरामद

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ। विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा आयोगले छापा मारेको हो।
आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारीसहितको आयोगको टोलीले आज रु ११ लाख ५८ हजार २४० बिजक मूल्यका जाँचपास भएका एकलाख ५० हजार थान जापानी ‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार आठसय ८८ बिजक मूल्य भएका मोबाइलमा प्रयोग हुने चार ‘गिगा बाइट’ क्षमताका ३६ हजार थान मोबाइल सेक्योर डिजिटल चिप्स बरामद गरेको आयोगले जनाएको छ।
आयोगका अनुसार बरामद गरिएका ती सामग्री राजस्व अनुसन्धान विभाग पठाइएको छ। आयोगले ती सामग्री कसले आयात गरेको र उनीहरूमाथि कस्तो कारबाही हुन्छ भन्नेबारेमा भने केही उल्लेख गरेको छैन। NAGARIKNEWS