वैशाख २६ । युक्रेनी भूमि क्राइमियालाई आफ्नो देशमा विलय गरेपछि विश्व समुदायसँग सम्बन्ध चिसिएको बेला रुसले भने आफ्नो भूमिमा विशाल सैन्य परेड गर्दै राष्ट्रवादी भावना प्रदर्शन गरेको छ ।
सोभियत संघले तात्कालीन जर्मनीको नाजी सेनालाई पराजित गरेको ६९औं वर्षगाँठमा आयोजित समारोहमा क्राइमिया आफ्नो देशमा विलय गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमप्रति राष्ट्रवादी भावना पोखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सम्पूर्ण राष्ट्रवादी एक हुँदा मातृभूमिको रक्षा गर्न सकिने सन्देश आजको दिनले दिएको बताएका छन् । सोभियत जनताको लौह दृढताकै कारण यूरोपलाई दासताको चंगुलबाट बचाउन सकिएको भन्दै पुटिनले ७० वर्ष अगाडि पूर्खाले जितेको युद्धको सम्झना गरे ।
विजय दिवस मनाउँदै गर्दा मातृ भूमिप्रति कसरी इमान्दार र मुलुकको स्वार्थ रक्षा गर्नुपर्छ भन्नेमा लाग्न पनि उनले सबैलाई सुझाए । मस्कोको कार्यक्रमपछि राष्ट्रपति पुटिन हालै मस्कोमा गाभिएको क्राइमिया पुगेका थिए ।
उता, जर्मन चान्सलर एञ्जेला मर्केलले भने पुटिन क्राइमिया जानुलाई दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छन् ।
रुसले मस्कोको रेड स्क्वाएरमा सैनिक हातहतियार र राष्ट्रवादी झलकको प्रस्तुति गरेको थियो । यस वर्षको परेड पहिलेका भन्दा ठूलो रहेको पनि बताइएको छ । परेड अवलोकनका लागि जर्मन युद्धमा सहभागी हजारौं अनुभवी पूर्व सैनिक पनि उपस्थित थिए ।
यता, रुसले राष्ट्रिय एकता दिवस मनाउँदै गर्दा यूक्रेनको मारिउपोलमा भने पृथकतावादी र युक्रेनीबीच गोली हानाहान भएको छ । रुसी समर्थितहरुले उल्का नमच्चाउन भनेर युक्रेनी प्रशासकले सतर्कता अपनाउँदा अपनाउँदै पनि भिडन्त भएको हो ।
नाजीसँगको तत्कालीन दोस्रो विश्वयुद्धमा २ करोड ६६ लाख सोभियत नागरिक मारिएको अनुमान रुसको छ । त्यसमध्ये ८७ लाख सैनिक मात्रै रहेको बताइन्छ । (एजेन्सी)