वैशाख २७ । दक्षिण सुडानमा पाँच महिना लामो द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापना गर्न राष्ट्रपति साल्भा कीर र विद्रोही नेता रिइक मचार तयार भएका छन् । शान्ति सम्झौता अनुसार अब दक्षिण सुडानमा तत्काल एक अन्तरिम सरकार बनाइने छ भने संविधानको नयाँ मस्यौदा तयार गरेर आम निर्वाचन गराइनेछ ।
दुई नेताको सत्ता संघर्षका कारण विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक सुडानमा हजारौं मारिए भने लाखौं घरवारविहीन बन्न बाध्य बनाइएका थिए । कीर समर्थित डिन्का तथा मचार समर्थित नुएर समुदायबीच जातीय दंगा मच्चाइँदा अनाहकमा सर्वसाधारण मारिएका हुन् ।
दुई पक्षबीच इथियोपियाको राजधानीमा आमनेसामने वार्ता भएपछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिलगत्तै दुबै नेताले आफ्ना लडाकूहरुलाई हतियार बिसाएर मानवीय सहायताकर्मीहरुलाई सघाउन निर्देशन दिएका छन् ।
दुई पक्षलाई शान्ति सम्झौतामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएका अमेरिकी विदेश मन्त्री जोन केरीले दक्षिण सुडानको भविष्यका लागि सम्झौता महत्वपूर्ण रहेको भन्दै आगामी दिनको यात्रा निकै चुनौतिपूर्ण रहेको औलाए ।
राष्ट्रसंघले दक्षिण सुडानमा यो अवस्था आउनुमा सरकार विद्रोही दुबै कारक रहेको भन्दै दुबैबाट मानवताविरुद्धको अपराध, आमनरसंहार र सामूहिक बलात्कार जस्ता जघन्य अपराध गरिएकोमा आलोचना गरेको छ । सन् २०११ मा सुडानसँग छुट्टिएर अलग राज्यको मान्यता पाएको यो राष्ट्रमा आन्तरिक संघर्ष मिलाउन अहिले राष्ट्रसंघको ८ हजार ५ सय शान्ति सैनिक कार्यरत छन् । AGENCIES