वैशाख २८ । दक्षिण सुडानमा पाँच महिना लामो द्वन्द्व अन्त्य गर्ने सहमतिका साथ गरिएको युद्धविराम सम्झौता लागु भएको छ । शुक्रवार राष्ट्रपति साल्भा कीर र विद्रोही नेता रिइक मचारले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
राष्ट्रपतिका प्रवक्ताले सेना विरुद्ध आक्रमण गरिए आत्मरक्षाका लागि अगाडि बढ्नु पर्ने बताउदै तर सरकारले यस्तो समस्या नआउने विश्वास गरेको बताएका छन् । यस अघि दुई पक्षबीच गत जनवरीमा भएको सम्झौता एक दिन मै भंग भएको थियो ।
इथियोपियाको राजधानी अडिस अवासमा प्रत्यक्ष वार्ता पछि भएको शान्ति सम्झौता अनुसार तत्काल अन्तरिम सरकार बनाइने छ भने संविधानको नयाँ मस्यौदा तयार गरेर आम निर्वाचन गराइनेछ ।
कीर समर्थित डिन्का तथा मचार समर्थित नुएर समुदायबीच जातीय दंगा मच्चाइँदा अनाहकमा सर्वसाधारण मारिएका हुन् । यता संयुक्त राष्ट्रसंघले खाद्यान्नको अभावसंग जुधिरहेका ५० लाख मानिससम्म सहयोग पुग्ने वातावरण निर्माणका लागि आग्रह गरेको छ ।
सन् २०११ मा उत्तरी सुडानसँग छुट्टिएर दक्षिण सुडानले अलग राज्यको मान्यता पाएको थियो । अफ्रिका कै गरिब र विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक दक्षिण सुडानमा आन्तरिक संघर्ष मिलाउन अहिले राष्ट्रसंघको ८ हजार ५ सय शान्ति सैनिक कार्यरत छन् । BBC, AGENCIES