वैशाख २९ । नाइजेरियामा गत महिना इस्लामिक लडाकू समूह बोको हरामको अपहरणमा परेका बालिकाहरुको नयाँ भिडियो सार्वजनिक भएको छ । बोको हरामले अपरहण गरेका मध्ये करिब सय जनाको भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
समूहका नेता अबुबाकार शेकाउले सरकारले बन्दी बनाएका आफ्नो समूहका सदस्यहरुलाई रिहा नगरेसम्म बालिकाहरुलाई नछोड्ने बताएका छन् । अपहरित बालिकाहरुले धर्म परिवर्तन गरी इस्लाम भएको समेत शेकाउको दाबी छ ।
सार्वजनिक भिडियोमा बालिकाहरुले प्रार्थना गरिरहेको देखाइएको छ । बुर्कामा देखिएका उनीहरु मध्ये दुई बालिकाले आफूहरु पहिला क्रिश्चियन रहेको र अब इस्लाम धर्म अंगालेको बताएका छन् । अपहरित मध्ये धेरै जसो क्रिश्चियन रहेको विश्वास गरिएको छ ।
बालिकाहरुलाई विकट स्थानमा राखिएको अनुमान गरिएपनि सार्वजनिक भिडियो कहिले र कहाँ लिइएको थियो भन्नेबारे कुनै संकेत नमिलेको छ ।
बोको हरामले गत अप्रिल १४ मा उत्तरी नाइजेरियाको बोर्नो राज्यको एक स्कुलबाट २ सय ७६ जना भन्दा बढी बालिकाहरुलाई अपहरण गरेको थियो । अपहरणपछि उनीहरुलाई बेच्ने बोको हरामको चेतावनी थियो ।
नाइजेरियामा बोको हरामले सन् २००९ यता इस्लामिक राष्ट्रको नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । AGENCIES