भारतमा लोकसभा निर्वाचन सम्पन्न, भारतीय जनता पार्टी, कांग्रेस आई र आम आदमी पार्टीबीच कडा टक्कर

वैशाख २९ । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज नवौं तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ । विहार, उत्तर प्रदेश र पश्चिम बंगालका ४१ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।


सबैको ध्यान भने बनारस निर्वाचन क्षेत्रले तानेको छ । त्यहाँबाट भारतीय जनता पार्टीका प्रधानमन्त्री पदका प्रत्यासी नरेन्द्र मोदी, आमआदमी पार्टीका नेता अरविन्द केजरीवाल र कांग्रेसका अजय राय उम्मेदवार छन् । मे १६ मा मतपरिणाम आउने बताइएको छ । लोकसभाको ५ सय ४३ सीटमा बहुमत पुर्‍याउन २ सय ७२ स्थानमा जित्नुपर्ने हुन्छ ।


यसपटक भारतीय जनता पार्टी, कांग्रेस आई र आम आदमी पार्टीबीच कडा टक्कर रहेको छ । चुनावी सर्वेक्षणहरुले भाजपा कांग्रेसभन्दा अगाडि देखाएको छ । बहुमत नै हासिल गर्न नसकेपनि सबैभन्दा बढी सीटका साथ भाजपा उदाउने र अरु क्षेत्रीय दलसँगको सहकार्यमा सरकार बनाउनसक्ने आंकलन गरिएको छ ।

भाजपाले कट्टर हिन्दूवादी छवि बनाएका नेता मोदीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । कांग्रेसका राहुल गान्धी पनि प्रधानमन्त्रीका आकांक्षी त मानिएका छन् तर सरकार बनाउने गरी नतिजा आफ्नो पक्षमा पार्न कांग्रेसलाई गाह्रो पर्ने चुनावी सर्वेक्षणहरुले देखाएका छन् ।


अर्कातिर भ्रष्टाचारविरुद्धको मुद्दालाई उठाएर चर्चामा आएको केजरीवालको आम आदमी पार्टीको भविष्य पनि यही निर्वाचनले तय गर्नेछ । १ अर्ब २० करोड जनसंख्या रहेको भारतमा पाँच साता लगाएर नौ चरणमा सम्पन्न निर्वाचनमा ८० करोडभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । (एजेन्सी)