बंगलादेशको राजधानी ढाका नजिकको मेघना नदीमा डुंगा डुब्दा कम्तिमा ९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाका नजिकको मेघना नदीमा डुंगा डुब्दा कम्तिमा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु सयौँ हराइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
दुर्घटनामा परेका ९ जनाको शव निकालिएको र नदीमा बेपत्ता भएकाहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ । उद्धार दलले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।
सयौँ यात्रु सवार सो डुंगा राजधानी ढाकाको दक्षिणी जिल्ला मुन्सिगञ्जको मेघना नदीमा डुबेको हो । खराब मौसमका कारण तीव्र गतिमा हावा चल्दा डुंगा पल्टिएर डुबेको बताइएको छ ।
मुन्सिगञ्जका डेपुटी कमिश्नर साइफल हसन बदलले डुंगमा सवार यात्रुको संख्या यकिन गर्न नसके पनि ३ सय ५० जनासम्म सवार रहेको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।
डुंगा ढाकाबाट मेघना नदी हुँदै सुरेसवारतर्फ जाँदै थियो । -AGENCIES