मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले ३ पुरुष सहित २ महिला दलाललाई गिरफ्तार गरेको छ।
विर्तामोडको कस्तुरी होटल एण्ड लज परीसरमा संकास्पद अवस्थामा रहेका ५ महिलालाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएर केरकार गरेको थियो। उनिहरुले आफूहरु कुवेत जान लागेको प्रहरीलाई बताएपछि प्रहरीले उनीहरुलाई भारतीय बाटो हुँदै कुवेत लैजाने दलाल गिरोहको तत्काल खोजी शुरु गरको थियो। ति पाँच नेपाली चेलीले पनि आफूहरु थाहै नपाई भारतीय दलालको प्रलोभनमा परेर बेचिन लागेको बताएका थिए। प्रहरीले सूचना पाएको २४ घन्टा नबित्दै मानव बेचविखनका मुख्य दलाल सहित एउटा गिरोहका केहि सदस्यलाई प्रहरीले समातेको हो।
प्रहरीले व्यापक खोजी गरेपछि बिहीबार राति नै तीन जना भारतीय दलाललाई समात्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीलाई दिएको सही सूचनाले ५ नेपाली चेली बेचिनबाट बचेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मुकुन्द आचार्यले बताए।
प्रहरीले बिहीवार राति बिभीन्न ठाँउबाट ३ जना पुरुष दलाललाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्जा कोपवादी ६ का वर्ष ३७ को निशान भन्ने तेजनिधि खनाल, झापा अर्जुनधारा ६ का किरण भन्ने कृष्ण दर्जी र भारत दार्जिलिङ लालपुर का वर्ष ३१ को सन्तोष दर्जी रहेका छन।
सन्तोष दर्जी भने भारतीय बेस्यालयमा नेपाली चेली बेच्ने गिरोहको मुख्य दलाल रहेको प्रहरीको अनुसन्धानले खुलाएको छ। उनिहरुलाई जिल्ला प्रहरी कार्यलय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हेा। उनिहरु चारपाने १ बाट प्रहरीको फन्दामा परेका हुन।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोहि घटना मा संल्ग्न रहेको आरोपमा मे न पा १० बस्ने वर्ष २५ की सरस्वती कार्की (राई) र सोही ठाउँकी वर्ष ३५ की नितु दर्जीलाई पनी प्रहरीले शुक्रबारै पक्राउ गरेको छ। प्रहरीको नियन्त्रणमा रहेका ति दुई महिला पनि भारतीय बेस्यालयमा नेपाली चेली बेच्ने गिरोहका सदस्य रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
पक्राउ परेका सबैलाई शुक्रबारनै झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय झापाका एसपी मुकुन्द आचार्यले जनाएका छन्। ईलाम,सिन्धुली,कपिलबस्तु,धनकुटा,बिराटनगर लगायतका जिल्लाका चेलीलाई बैदेशिक रोजगारका लागि कुवेत पठाउने भन्दै उनीहरुले मानव ओसार पसार तथा बेचबीखन गर्ने गरेको खुल्न आएको प्रहरीले बताएको छ।
उनीहरुले काठमाडौं महिला भेला गरी अवैध बाटो प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ।
प्रहरीले उद्धार गरेका ५ चेलीलाई उनीहरुका आफन्त को जिम्मा लगाउने तयारी भइरहेको बताईएको छ। नेपाल सरकारले कुवेतमा नेपाली महिला कामदार पठाउन प्रतिवन्ध लगाएपनि भारतीय बाटो हुँदै गैह्र कानुनी ढंगले त्यस तर्फ केहि महिला जाने गरेका छन्। कतिपय कुवेत हिँडेका महिला भारतको दिल्ली, मुम्वई लगायतका बेस्यालयमा थाहै नपाई बेचिने गरेका छन।
– SETOPATI