भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले शनिबार आफ्नो पदबाट राजिनामा दिएका छन् ।
भारतीय जनता पार्टीले लोकसभाको निर्वाचनमा बहुमत हासिल गरेको भोलिपल्टै उनले शनिबार राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री डा.सिंह निरन्तर १० वर्षको शासनपछि आज पहिलो पटक सरकारबाट हटेका हुन् ।
उनी भारतमा विगत १० वर्षदेखि पूरै दुई कार्यकालसम्म प्रधानमन्त्री थिए। उनको पार्टी भारतीय काँग्रेसले निर्वाचनमा इतिहासमै लज्जाजनक हार व्यहोरेको छ।
प्रधानमन्त्री डा.सिंह र उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि आजै राजिनामा पत्र बुझाएका छन् ।
उनीहरुले शनिबार अपरान्ह राष्ट्रपति भवनमा पुगी राष्ट्रपति प्रणव मुखर्जीलाई राजिनामा पत्र बुझाएका हुन् ।
तर उनी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आगामी हप्ता नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभन्दा अघिसम्म भारतको काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनेछन् ।
राजिनामा दिनुअघि प्रधानमन्त्री डा.सिंहले देशवासीका नाममा अन्तिम पटक सम्बोधन गर्दै जनताले दिएको मतलाई सम्मान गर्न सबैसँग आग्रह गर्दै आगामी सरकारको सफलताको कामना पनि गरेका थिए । Agencies