जेष्ठ ४ । अफ्रिकी मुलुकका नेताहरुले नाइजेरियाको इस्लामिक लडाकु समुह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा बसेको बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । फ्रेन्च राष्ट्रपति फाँस्वाँ ओलाण्डले अफ्रिकी मुलुकका नेताहरुले गुप्तचरी सुचना आदानप्रदान गर्न र बोको हराम विरुद्ध कारवाही गर्न सहयोग मागेको जानकारी दिए ।
उनले बोको हराम पश्चिमी र मध्य अफ्रिकाका लागि ठूलो खतरा बनेको बताउँंदै यसको सम्बन्ध अल कायदा लगायतका अन्य लडाकु समुहसँग समेत रहेको बताए । नाइजेरिका राष्ट्रपति गुडलक जोनाथनले क्षेत्रिय नेताहरुले बोको हराम विरुद्ध तयार पारिएको कार्य योजनामा सहमति जनाएको बताएका छन् । क्यामरुनका राष्ट्रपति पाउल बियाले बोको हराम विरुद्ध युद्धको घोषणामा ऐक्यवद्धता जाहेर गर्न पेरिस भेला भएको प्रतिक्रिया दिए। यस्तै चाडका प्रतिनिधिले बोको हराम विरुद्ध पूरा युद्ध छेडिने बताएका छन् ।
बैठकमा बेलायत , अमेरिका र यूरोपियन युनियनका प्रतिनिधिको सहभागिता थियो । गत महिना नाइजेरियाको उत्तरी बोर्नो राज्यबाट २ सय भन्दा बढी स्कुले बालिकालाई बोको हरामले अपहरण गरेको थियो । यस्तै नाइजेरिया र क्यामरुनका विभिन्न क्षेत्रमा पनि बोको हरामले आक्रमण गरेको छ । इस्लामिक राज्यको माग गर्दै बोको हरामको हिंसात्मक गतिविधिका कारण हजारौं मानिसहरुले ज्यान गुमाइसकेका छन् । ( एजेन्सी )