नेकपा (एमाले) को आसन्न नवौ राष्ट्रिय महाधिवेशनमा नेता केपी ओली पक्षले प्रमुख पदमा आफ्ना उम्मेदवारी घोषणा गरेको छ।
सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनले पार्टीको अध्यक्षमा नेता ओली सर्वसम्मत हुने दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलको नाम घोषणा गरेकी हुन्।
उपाध्यक्ष भण्डारीले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन वर्तमान अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन रहेर सर्वसम्मत प्रस्ताव ल्याउन सकिए पार्टीको लोकतान्त्रिकरण, दीर्घजीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने धारणा राखिन्।
उनले २०५६ सालपछि एमालेमा शक्तिशाली, सर्वैसर्वा र सर्वसम्मत महासचिव रहेर वरिष्ठ नेता नेपालले आफ्नो शासन चलाउँदा योग्यता र क्षमता देखाइसकेकाले अब अर्काे नेतृत्व आवश्यक रहेको उल्लेख गरिन्। उनले नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने स्पष्ट गरिन्।
एमाले संसदीय दलको निर्वाचनमा नेता ओलीलाई सघाउने गठबन्धनको निरन्तरता दिँदै महाधिवेशनमा सोहीअनुसार नेतृत्व हस्तान्तरण गराउने उद्घोष पनि कार्यक्रममा गरिएको थियो।
कार्यक्रममा पार्टी सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि अबको पार्टी अध्यक्ष ओली हुनुको विकल्प नभएको बताए ।
सचिव पौडेलले पार्टी विधानमा दुई कार्यकाल प्रमुख नेतृत्वमा रहने वैधानिक व्यवस्था भएको जनाउँदै प्रश्न गरे,१५ वर्षसम्म गर्न नसकेको कुन काम बाँकी छ र उहाँले नेतृत्वको दाबी गर्नुहुन्छ?
सचिव पौडेलले अहिले मेचीदेखि महाकाली र देशविदेशका सबै कार्यकर्ताले नेता ओलीलाई अध्यक्ष देख्न चाहेको भन्दै उनले महाधिवेशन अब असार १९ देखि २४ मै हुनेमा पनि ढुक्क हुन आग्रह गरे। उनले नेता ओली केही दिनमै स्वस्थ्य भएर स्वदेश फर्कनेसमेत बताए ।
अर्का सचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्तको जगमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका लागि नेता ओली अध्यक्ष हुनुपर्ने जिकिर गरेका थिए ।
पोलिटब्युरो सदस्य न्यौपानेले ओलीलाई अध्यक्ष बनाएर नेता माधव नेपाल अभिभावकको भूमिकामा जानुपर्छ भन्नुभयो।
कार्यक्रममा एमालेका नेताहरु रामनाथ ढकाल, किरण गुरुङ, थममाया थापालगायतको उपस्थिति थियो। पार्टीका महासचिव ईश्वर पोखरेल भने अस्वस्थताका कारण अनुपस्थित हुनुहुन्थ्यो। रासस