थाइल्याण्डमा सरकार र विपक्षीबीच महिनौसम्म राजनीतिक खिंचातानी चलिरहँदा अन्ततः सैनिक शासन लागू

जेष्ठ ६ । थाइल्याण्डमा सरकार र विपक्षीबीच महिनौसम्म राजनीतिक खिंचातानी चलिरहँदा अन्ततः सेनाले शासन आफ्नो हातमा लिएको छ । देशमा शान्ति सुव्यवस्था कायम राख्न शासन आफ्नो हातमा लिनुपरेको दलील सेनाले गरेको छ ।
निर्णय कार्यान्वयनका लागि सेनालाई व्यापकस्तरमा अधिकार दिइएको छ । देशका मुख्य सहरहरुमा बख्तरबन्द सैनिक ट्यांकरहरुले गस्ती गरिहेका छन् । राष्ट्रिय सुरक्षा गर्नु सेनाको कर्तव्य भएकाले यसलाई कू भन्न नमिल्ने तर्क सैनिक नेतृत्वले गरेको छ । टेलिभिजन स्टेसनहरु नियन्त्रणमा लिएको सेनाको प्रवक्ताले जनतालाई नआत्तिन र आफ्नो जीवन सामान्य ढंगले चलाउन भनेका छन् ।
सरकार र विपक्षीबीचको टकरावका कारण लामो समयदेखि थाइल्याण्डमा राजनीतिक संकट बढेको समयमा सेनाले शासन आफ्नो हातमा लिएको हो । यसै महिनाको सुरुमा संवैधानिक अदालतले प्रधानमन्त्री यिंगलक सिनावात्रा र केही मन्त्रीलाई शक्ति दुरुपयोगको आरोपमा पदबाट हट्न आदेश दिएको थियो ।
अर्कातिर विपक्षले भने राजनीतिक दलबाहेकको सरकार बनाएर उसलाई संविधान फेरि लेख्ने अधिकार दिनुपर्ने माग गरिरहेका थिए । थाइल्याण्डको इतिहासमा शक्ति हातमा लिन नागरिक र सैनिक शासनबीच पटक-पटक संघर्ष भएका उदाहरण छन् । पछिल्लो पटक सन् २००६ मा मात्रै पनि सैनिकले शासन आफ्नो हातमा लिएको थियो । (एजेन्सी)