दैलेखमा एचआइभी/एड्सबाट हालसम्म २९ जनाको मृत्यु, टीकापुर अस्पतालमा एचआईभी संक्रमितको रगत जाँच्ने सीडीफोर मेसिनको किट अभाव

दैलेख , जेष्ठ ६ – दैलेखमा एचआइभी/एड्सबाट हालसम्म २९ जनाको मृत्यु भएको खुलेको छ । एड्सबाट अकालमा मृत्यु भएकाको सम्झनामा मनाइने मैनबत्ती दिवसका अवसरमा आयोजित एक कार्यक्रममा यो तथ्यांक सार्वजनिक भएको हो । मैनबत्तीको प्रकाशको माध्यमबाट एचआईभी/ एड्सप्रति समाजमा रहेको नकारात्मक धारणालाई हटाउन दिवस मनाइएको हो ।
एचआईभी लोगो आकारमा मैनबत्ती बालेर दिवंगतको सम्झनाका साथै उनीहरूको चिरशान्तिको कामना गरिएको आयोजक जिल्ला एड्स समन्वय समिति (ड्याक) ले जनायो । एचआईभी संक्रमित सन्तोष रावलले आफूहरूप्रति समाजले गर्ने व्यवहार क्रमशः सुधि्रँदै गए पनि आम धारणा भने अझै नकारात्मक रहेको अनुभव सुनाए ।  
त्यस्तै, ड्याकका अनुसार ०६१ देखि हालसम्म २०९ जना संक्रमितको पहिचान भएका छन् । तीमध्ये ९१ पुरुष, १ सय १८ महिला र २५ बालबालिका छन् । समिति संयोजक दीपा बोहराले ७५ जनाले नियमित एआरटी औषधि सेवन गरिरहेको बताइन् । सन् १९८३ मे १८ तारिखमा विश्वस्तरको एक भेलाले एचआईभी/एड्सबाट मृत्यु भएकाको सम्झनामा मैनबत्ती बाल्ने निर्णय गरेअनुरूप नेपालमा केही वर्षदेखि यो दिवस मनाउन थाले पनि दैलेखमा यस वर्ष पहिलो पटक मनाइएको हो ।
यसैबीच, एचआईभी संक्रमित बालबालिकाको शिक्षा, पोषण र स्वास्थ्यका लागि ‘सेभ द चिल्डे्रन’ को सहयोगमा नेपाल यौन रोग तथा एड्स अनुसन्धान केन्द्र (एनसार्क) ले मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । रोग लुकाउने बानी हट्ने र संक्रमित बालबालिकाले समयमै औषधि उपचार तथा परामर्श पाउने कार्यक्रमको विश्वास छ ।
टीकापुर अस्पतालमा एचआईभी जाँच्ने किट अभाव
टीकापुर अस्पतालमा एचआईभी संक्रमितको रगत जाँच्ने सीडीफोर मेसिनको किट अभाव भएको छ । जसका कारण गत चैतदेखि सीडीफोर गणना गर्न सकिएको छैन । एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले किट नपठाउँदा सेवा अवरुद्ध भएको डा.राम दासले बताए । रगत जाँचका लागि धनगढी र महेन्द्रनगर पठाउनुपर्ने अवस्था छ । एएचएफमा कार्यरत प्रगति खनालका अनुसार केन्द्रको केही दिनमै पठाउने आश्वासन दिएको एक महिना बितिसकेको छ ।
उक्त अस्पतालको एआरटी सेन्टरबाट ३ सय १८ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । उनीहरूको हरेक ६/६ महिनामा रगत जाँच गर्नुपर्छ । सीडीफोर गणनाका लागि हरेक महिना करिब १ सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कैलालीमा एचआईभी संक्रमित करिब ४ हजार रहेको अनुमान छ, आयु लम्याउने औषधि एआरटी खानेको संख्या करिब ८ सय छ । गोदावरी, चौमाला, बलिया, चुहा, धनगढी र टीकापुरमा संक्रमितको संख्या छ ।
EKANTIPUR