ललितपुर, जेष्ठ ७ – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप दवाव आए आफू एक दिन पनि सरकारमा नबस्ने चेतावनी दिएका छन् । ललितपुरमा बुधाबार पूर्व सांसद् मञ्चले गरेको कार्यक्रमा बोल्दै प्रधानमन्त्री कोइरालाले चौतर्फी दबाब आए सरकार छोड्ने बताएका हुन् ।
गठन भएको एक सय दिनसम्म सरकार निकै सुस्त रहेको भनी गरिएका टिका-टिप्पणीप्रति लक्षति गर्दै आफु प्रधानमन्त्रीको कुर्सीमा बसीरहने मनशायबाट नआएको बताए । ‘म प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहन आएको हैन । प्रेसरमा काम गर्न सक्दिन, प्रेसर आए एक दिनपनि कुर्सीमा बस्दिन,’उनले भने ।
प्रधानमन्त्री कोइरालाले १ वर्ष ढुक्क भएर काम गर्न दिन सबैलाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले सरकारका काम कारबाही केही सुस्त जस्तो देखिएपनि आफूहरु चुप लागेर भने नबसेको उल्लेख गरे । खानेपानी, विजुली जस्ता आधारभूत आवश्यकताका कुराको अभाव हुँदा सरकारप्रति जनताको अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै प्रधान्त्रीमन्त्री कोइरालाले विभिन्न कारणले गर्दा जनअपेक्षा अनुरुप काम गर्न नसकेकोमा दुख व्यक्त गरे ।
कोइरालाले सरकारले भ्रष्टाचार निवारणमा ध्यान केन्द्रीत गरेको र भ्रष्टाचारमा संलग्न रहेको पाइए कसैलाई पनि नछाड्ने दृढता व्यक्त गरे । ‘मैले जनअपेक्षा अनुरुप काम गर्ने अझै सकेको छैन, भ्रष्टचारमा संलग्न हुने कसैलाई छोडदिन’ उनले भने । मुलुकमा लगानीको बातावरण बन्दै गएको भन्दै प्रधानमन्त्री कोइरालाले अबको १० वर्षमा मुलुक आर्थिक रुपमा निकै अघि बढ्ने दावी गरे । EKANTIPUR