सन् २०१४ को जनवरीदेखि मार्चसम्म ६७७ वटा जर्बजस्ती करणी, १४४ मानव बेचबिखन, २८ वटा जर्बजस्ती गर्भपतनका घटना तथ्यांक सार्वजनिक

काठमाडौं, जेष्ठ १३ । सञ्चारिका समूहले सन् २०१४ को जनवरीदेखि मार्चसम्म भएका महिला हिंसाका घटना र सञ्चारमाध्यमले त्यस्ता घटनालाई दिएको स्थानबारे तथ्यांक सार्वजनिक गरेको छ ।


तीन महिनाको अवधिमा काठमाडौंबाट प्रकाशन हुने पत्रपत्रिकामा आएका समाचारको आधारमा समूहले ६ सय ७७ वटा जर्बजस्ती करणी, २ सय ४५ जर्बजस्ती करणीको प्रयास, १ सय ४४ मानव बेचबिखन, २८ वटा जर्बजस्ती गर्भपतनका घटना भएको जनाएको हो ।


यस्तै, सो अवधिमा ३ सय ३५ वटा बहुविवाह, १९ वटा बालविवाह भएको पनि समूहले जनाएको छ । तीन महिनाको अवधिमा महिला हिंसाका घटनाबारे १ हजार ३८ वटा समाचार मात्र राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित भएको पाइएको सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।


उनले सञ्चारमाध्यमले राजनीतिक विषयलाई मात्र महत्व दिने गरेको गुनासो समेत गरिन् । IMAGEKHABAR