काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्वन्धि एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुरु

काठमाडौ, जेष्ठ १५ – एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको आयोजनामा बिहीबारदेखि काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्वन्धि एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुरु भएको छ। 
तीन दिनसम्म हुने सम्मेलनमा शल्यक्रियाको प्रत्यक्ष प्रदर्शनी तथा एसिया प्यासिफिक क्षेत्रका मेरुदण्ड शल्यक्रियासम्वन्धि प्रविधिबारे बहस हुनेछ । आयोजक एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालका महासचिव रविन्द्रलाल प्रधानका अनुसार, मेरुदण्ड शल्यक्रियाका क्षेत्रमा रहेका सम्भावना र चुनौतीका बिषयमा पहिलो पटक नेपालमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम हुन लागेको हो ।
सम्मेलनमा भारत, जापान, कोरिया, हङकङ, मलेसिया, भियतनामका विज्ञहरु सहभागी हुनेछन् । पहिलो दिन बिहिवार काठमाडौंको सिनामंगलपस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा मेरुदण्ड शल्यक्रियाको प्रत्यक्ष प्रदर्शनी र कृत्रिम हड्डीमा शल्यक्रियाको प्रविधि सिकाइनेछ । त्यस्तै, दोस्रो र तेस्रो दिनमा मेरुदण्डको शल्यक्रियाका पछिल्ला प्रविधि र प्रयोगबारे विभिन्न सत्रमा अन्तक्रिया हुने कार्यक्रम आयोजनाका एक प्रमुख रोहित कुमार पोखरेलले जानकारी दिए।
एसिया प्यासिफिक स्पाइन सोसाइटीको अगुवाईमा हुन लागेको सम्मेलनमा एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको समेत प्रत्यक्ष सहभागिता रहनेछन् । EKANTIPUR
प्रकाशित मिति: २०७१ जेष्ठ १५