संविधानसभामा तत्कालीन संविधानसभा तथा राज्य पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं, जेष्ठ १५ । संविधानसभामा तत्कालीन संविधानसभा तथा राज्य पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । संविधानसभा अभिलेख तथा निक्र्योल समितिद्धारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै दलका शीर्ष नेताहरुले कम प्रदेश निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
छलफलमा भाग लिंदै प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनको काम धेरै अघि बढिसकेको बताए । उनले धेरै विषय सहमतिबाट टुंगिने भन्दै सहमति नभए प्रक्रियाबाट भए पनि विषयहरु टुंगिदै जाने बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले चाँडो भन्दा चाँडो संविधान जारी गर्नुपर्ने बताए । उनले संघीयताको विषयमा छिटो टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।
पहिचानका ५ र सामथ्र्यका ४ आधारहरुमा संघीय संरचना बन्नु पर्ने उनको भनाइ थियो । खनालले बढीमा सात प्रदेश बनाउनुपर्ने धारणा पनि राखे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबैभन्दा महत्वपूर्ण विषय राज्य पुनःसंरचना भएको भन्दै राज्यको पुनःसंरचनाको मुलमर्म विपरित जान खोजे संविधान निर्माणबीचमै टुट्ने चेतावनी दिए ।
उनले सहमतिबाटै संघीयताको विषय टुंगो लगाउनुपर्नेमा पनि जोड दिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने ठूला दलकै कारण संविधान लेखन समयमै पूरा हुनेमा आशंका बताए ।
यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले मुलुक पछि फर्कन नसक्ने भन्दै १० प्रदेश वा १४ प्रदेशमा सहमति गर्न आग्रह गरे । IMAGEKHABAR