काठमाडौं, जेष्ठ १६ । संघीयताको विषयलाई लिएर दलहरुबीच फेरि पनि तीव्र मतभेद देखिएको छ । अघिल्लो संविधानसभाको राज्य पुनःसंचरना समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमति सम्बन्धी प्रतिवेदनमाथिको छलफलमा बोल्ने सभासदहरुले आ-आफ्नै पार्टीको अडान दोहोर्याएका हुन् ।
बैठकमा बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भावनामा भन्दा यथार्थमा टेकेर संघीयतामा जानुपर्ने बताए । उनले जातीय आधारमा प्रदेश निर्माण हुनै नसक्ने स्पष्ट पारे ।
एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले अघिल्लो राज्य पुनःसंरचना समिति र आयोगको प्रतिवेदनको आधारमा सहमति गरी कुनै निश्कर्षमा पुग्नुपर्ने बताए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले विगतमा असफल भएपनि जनताले फेरि मौका दिएकाले अब हिजोको गल्ती दोहोर्याउन नहुने बताए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र बलियो हुने तर राज्यहरु कमजोर हुने खालको संघीयता स्वीकार्न नसकिने बताए । IMAGEKHABAR